२०८३ कार्तिक १३
खाेज्नुहाेस

बाजुराका १३५ भन्दा बढी बस्ती बाढी–पहिरोको उच्च जोखिममा, स्थानीय त्रसित

Image

बाजुरा – वर्षायाम सुरु भएसँगै बाजुराका खोला किनार र पहिरो प्रभावित क्षेत्रमा रहेका १३५ भन्दा बढी गाउँबस्ती बाढी–पहिरोको उच्च जोखिममा परेका छन्। माथितर्फबाट पहिरो र तलतर्फबाट बाढी आउने दोहोरो जोखिमका कारण स्थानीयवासी वर्षायामभर त्रासमा बस्न बाध्य भएका छन्।

खप्तड छेडेदह गाउँपालिका–६ गुम्ला गाउँका पदम रावतका अनुसार हिउँदमा निर्धक्क भएर बस्न सकिए पनि वर्षा सुरु भएसँगै पहिरो चल्ने डरले रातको निद्रा समेत हराउने गरेको छ।

“गाउँ नजिकै पहिरो आइपुगेको छ। प्रत्येक वर्ष जोखिम बढ्दै गएको छ। हिउँदमा खासै समस्या हुँदैन, तर वर्षायाम लागेपछि पहिरो चल्न थाल्छ र बस्तीमा ठूलो डर हुन्छ,” उनले भने।

उनका अनुसार असारदेखि साउन–भदौसम्म लगातार वर्षा हुने समयमा राति सुतेकै बेला कतिबेला पहिरोले बस्ती बगाउने हो भन्ने चिन्ता सधैं रहन्छ।

जिल्लाका हिमाली, स्वामिकार्तिक खापर, जगनाथ, बुढीनन्दा, बडीमालिका, गौमुल, बुढीगंगा, त्रिवेणी र खप्तड छेडेदह गाउँपालिकाका झण्डै १३५ भन्दा बढी गाउँबस्ती बाढी–पहिरोको उच्च जोखिममा छन्। वर्षायाममा माथिबाट पहिरो र तलबाट बाढी आउने भएकाले स्थानीयको दैनिकी नै त्रासपूर्ण बनेको छ।

बुढीगंगा गाउँपालिकाका अम्कोट, बजेडी र निमोनीस, त्रिवेणीका मौरे र छतारा, खप्तड छेडेदहका गाज्रा, धनाल्ट, पार्तोला, गुइबन, पाटा र सुदार, बडीमालिकाका ओलेना, राप्का, भौनेरा, बीरेखोला र रजातोली, बुढीनन्दाका साउनेगाउँ, जगनाथका पीलिचौर, स्वामिकार्तिक खापरका साप्पाटा, माझीगाउँ र मुक्तीकोट तथा हिमाली गाउँपालिकाका विच्छ्या, मैर्तना र बोल्ढीक लगायतका बस्ती सबैभन्दा बढी जोखिममा रहेका छन्।

जोखिमयुक्त बस्तीका स्थानीयले वर्षौंदेखि सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गर्दै आए पनि प्रक्रिया प्रभावकारी रूपमा अघि बढ्न सकेको छैन। स्थानीयका अनुसार वर्षायाम सुरु भएपछि मात्रै स्थानान्तरणको विषय उठ्ने र हिउँद लागेपछि पुनः ओझेलमा पर्ने गरेको छ।

हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले स्थानान्तरण गर्नुपर्ने बस्तीहरूको तथ्याङ्क संकलन गरेर जिल्ला विपद् व्यवस्थापन समितिमा पठाइसकिएको जानकारी दिए।

यस्तै, जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी डोरिन्द्र निरौलाका अनुसार हिमाली गाउँपालिकाको विच्छ्या र बडीमालिका नगरपालिकाको रजाली बस्ती स्थानान्तरणका लागि गृह मन्त्रालयमा पत्राचार गरिएको छ।

उनले जिल्लामा भूकम्पपीडितको संख्या पनि उल्लेख्य रहेकाले उनीहरूका लागि अस्थायी टहरा निर्माण गर्न गत वर्ष केही रकम उपलब्ध गराइएको बताए। सो रकमबाट हिमाली, गौमुल र त्रिवेणीका केही परिवारले टहरा निर्माण गरेर बसोवास गरिरहेका छन्।

प्रमुख जिल्ला अधिकारी निरौलाले जोखिमयुक्त बस्ती सुरक्षित स्थानमा स्थानान्तरण गर्न ठूलो बजेट आवश्यक पर्ने भएकाले गृह मन्त्रालयमार्फत थप प्रक्रिया अघि बढाइएको जानकारी दिए।