२०८३ कार्तिक १३
खाेज्नुहाेस

पत्रकार खेम भण्डारी कारागार चलान, कैद मिलानको माग अदालतद्वारा अस्वीकार

Image

काठमाडौँ – गाली बेइज्जती मुद्दामा अदालतबाट दोषी ठहर भएका पत्रकार खेम भण्डारीलाई फैसला कार्यान्वयनका क्रममा कारागार चलान गरिएको छ। अदालतले तोकेको एक महिना सात दिनको कैद र १२ हजार १ सय रुपैयाँ जरिवानाको सजाय कार्यान्वयनका लागि उनलाई बिहीबार कारागार पठाइएको हो।

भण्डारीले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५५ अनुसार जरिवाना रकम बुझाएर कैद मिलान गरिपाऊँ भन्दै कानुन व्यवसायीमार्फत कञ्चनपुर जिल्ला अदालतमा निवेदन दिएका थिए। तर न्यायाधीश राजेन्द्रसिंह भण्डारीको इजलासले उक्त निवेदन अस्वीकार गरेपछि उनलाई कारागार चलान गरिएको अदालतका तहसिलदार नारायणदत्त ओझाले जानकारी दिए।

ओझाका अनुसार रकम बुझाएर कैद मिलान गर्ने सुविधा पहिलो पटक कैद सजाय पाएका प्रतिवादीका हकमा मात्र लागू हुने कानुनी व्यवस्था छ। भण्डारी यसअघि पनि कैद सजाय पाइसकेकाले उक्त कानुनी सुविधा प्राप्त गर्न नसकेको उनले बताए।

भण्डारी यसअघि निर्मला पन्त हत्या प्रकरणसँग सम्बन्धित अर्को मुद्दामा पनि एक घण्टा कैद र एक रुपैयाँ जरिवानाको सजाय पाइसकेका थिए।

पछिल्लो पटक निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणसँग सम्बन्धित विषयमा प्रकाशित समाचारलाई लिएर दायर भएको गाली बेइज्जती मुद्दामा कञ्चनपुर जिल्ला अदालतले २०८२ जेठ १ गते उनलाई दोषी ठहर गर्दै एक महिना कैद, १० हजार रुपैयाँ जरिवाना तथा एक लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको थियो।

उक्त फैसलाविरुद्ध परेको पुनरावेदनमा उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासले थप सात दिन कैद र दुई हजार १ सय रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो। सोही अन्तिम फैसला कार्यान्वयनका क्रममा प्रहरीले उनलाई पक्राउ गरी कारागार पठाएको हो।

निर्मला पन्त हत्या प्रकरणमा आफूलाई तथ्यहीन रूपमा जोड्दै समाचार प्रकाशित गरिएको आरोप लगाउँदै कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज विष्टका छोरा तथा राष्ट्रिय समाचार समितिमा कार्यरत पत्रकार किरण विष्टले भण्डारीविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेका थिए।

वि.सं. २०७५ साउन १० गते साथीको घरमा पढ्न गएको भन्दै घरबाट निस्किएकी किशोरी निर्मला पन्त भोलिपल्ट भीमदत्त नगरपालिका–२ स्थित निम्बुखेडा खोलानजिकको उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन्। देशव्यापी चर्चा पाएको उक्त बलात्कारपछि हत्या प्रकरणका वास्तविक दोषी भने अहिलेसम्म पहिचान हुन सकेका छैनन्।