कञ्चनपुर – कञ्चनपुरका भोजराज भट्ट र सिर्जना भट्टले दाइजो तथा सुनका गरगहनाविनै विवाह सम्पन्न गर्दै समाजमा सकारात्मक र प्रेरणादायी सन्देश दिएका छन्।
हिन्दु परम्पराअनुसार असार १५ गते महेन्द्रनगरस्थित भानु पार्टी प्यालेसमा सम्पन्न विवाह समारोहमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीसहित विभिन्न सरकारी अधिकारी, समाजसेवी, शुभेच्छुक तथा आफन्तजनको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले नवदम्पतीलाई सफल दाम्पत्य जीवनको शुभकामना दिँदै उनीहरूको दाइजोमुक्त विवाहको निर्णयको खुलेर प्रशंसा गरेका थिए।
नवदम्पतीले प्रेम, सम्मान, समानता र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै कुनै पनि प्रकारको दाइजो वा सुनका गरगहना नलिई विवाह सम्पन्न गरेका हुन्। उनीहरूको निर्णयले विवाहलाई आर्थिक हैसियत प्रदर्शन गर्ने माध्यमभन्दा पनि आपसी विश्वास, समझदारी र मानवीय मूल्यमा आधारित बनाउनुपर्ने सन्देश दिएको छ।
दुलाहा भोजराज भट्टको पुर्ख्यौली घर बैतडी जिल्लामा भए पनि उनी हाल कञ्चनपुरको भीमदत्त नगरपालिका–७, हल्दुखालमा बसोबास गर्दै आएका छन्। त्यसैगरी दुलही सिर्जना भट्टको पुर्ख्यौली घर पनि बैतडी नै भए पनि उनी हाल कैलालीको धनगढीमा बसोबास गर्दै आएकी छन्।
दाइजोमुक्त विवाहको यो उदाहरणले युवापुस्तालाई सकारात्मक प्रेरणा दिने विश्वास गरिएको छ। साथै, लैङ्गिक समानता, सामाजिक रूपान्तरण र दाइजोमुक्त समाज निर्माणको अभियानलाई थप बल पुग्ने अपेक्षा गरिएको छ।
समाजमा विवाहका नाममा बढ्दो तडकभडक, अनावश्यक खर्च र प्रदर्शनमुखी प्रवृत्तिका बीच भोजराज र सिर्जनाले प्रस्तुत गरेको यो उदाहरणले सरल, सभ्य, जिम्मेवार र सामाजिक मूल्यमा आधारित विवाह संस्कृतिलाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरिएको छ।














