कैलाली – कैलालीको लम्कीचुहा नगरपालिकामा विद्यालयबाट हराएकी ६ वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन्।
लम्कीचुहा नगरपालिका–२ स्थित जनचेतना आधारभूत विद्यालयबाट मंगलबार हराएकी मनिषा बिकको शव बुधबार बिहान स्थानीय रोरा खोलाको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रहरीका अनुसार बिहान करिब पौने ११ बजेतिर खोलाको किनारमा बालिकाको शव देखिएपछि प्रहरीलाई खबर गरिएको थियो। मनिषा लम्कीचुहा नगरपालिका–४ अम्मरपुर निवासी विकास कामीकी छोरी हुन्। उनी जनचेतना माध्यमिक विद्यालयको शिशु कक्षामा अध्ययनरत थिइन्।
मंगलबार बिहान करिब ७ बजे उनका अभिभावकले उनलाई विद्यालयमा छाडेका थिए। तर विद्यालयबाटै हराएको र घर तथा आफन्तको सम्पर्कमा पनि नआएको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय लम्कीबाट प्रहरी निरीक्षक जयबहादुर चन्द नेतृत्वको टोली खोजीमा खटिएको थियो। थप खोजीका लागि प्रहरी निरीक्षक कबिराज रोकायाको नेतृत्वमा अर्को टोली पनि परिचालन गरिएको थियो।
प्रहरीका अनुसार मंगलबार परेको वर्षाका कारण स्थानीय खोलानालामा पानी बढेको थियो। सामान्यतया बालिकाका अभिभावक दिउँसो ११ बजे विद्यालयमा लिन आउने गरेका थिए। तर मंगलबार विद्यार्थी संख्या कम भएको भन्दै विद्यालयले करिब १० बजे नै बिदा दिएको बताइएको छ।
बिदा भएपछि मनिषा एक्लै घरतर्फ हिँडेकी र बाटोमा पर्ने रोरा खोला तर्ने क्रममा बाढीमा बगेको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।















