२०८३ कार्तिक १४
खाेज्नुहाेस

आपतकालीन प्रतिकार्य क्षमता अभिवृद्धिका लागि टेबलटप घटना अभ्यास सम्पन्न

Image

कैलाली-सुदूरपश्चिम प्रदेशमा विपद् पूर्वतयारी, प्रतिकार्य तथा पुनर्निर्माणलाई प्रभावकारी रूपमा अघि बढाउने उद्देश्यले धनगढीमा छलफलमा आधारित टेबलटप घटना अभ्यास सम्पन्न भएको छ।


आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आयोजित उक्त अभ्यास युरोपेली आयोगको आर्थिक सहयोग तथा युएनडिपी नेपाल, युनिसेफ नेपाल, युएन वुमन, हेन्डिक्याप इन्टरनेसनलको प्राविधिक सहयोग र स्थानीय साझेदार संस्था रुडुक नेपालमार्फत SUPER-II परियोजनाअन्तर्गत सञ्चालन गरिएको हो।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव श्री तेज प्रकाश जोशीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सरकारी तथा गैरसरकारी निकाय, सुरक्षा निकाय, संयुक्त राष्ट्रसंघका निकाय, नेपाल रेडक्रस सोसाइटी, निजी क्षेत्र , सञ्चारमाध्यम तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


अभ्यासका क्रममा काल्पनिक विपद् परिदृश्यका आधारमा आपतकालीन सञ्चार, खोज तथा उद्धार, घाइतेको उपचार, राहत वितरण, अस्थायी आश्रयस्थल व्यवस्थापन, विपद् सूचना व्यवस्थापन, सुरक्षा व्यवस्था, पुनर्निर्माण तथा अन्तरनिकाय समन्वयका विषयमा सहभागीहरूले आ-आफ्नो जिम्मेवारीअनुसार छलफल गर्दै निर्णय प्रक्रियाको अभ्यास गरेका थिए।

साथै, अभ्यासबाट प्राप्त सुझाव तथा सिकाइहरूले प्रदेशको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना र विपद् प्रतिकार्य ढाँचाको पुनरावलोकन, परिमार्जन तथा कार्यान्वयनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा सहभागी वक्ताहरूले टेबलटप घटना अभ्यास संस्थागत तयारी सुदृढ गर्ने, विद्यमान योजना तथा कार्यविधिको परीक्षण गर्ने, अन्तरनिकाय समन्वयलाई थप प्रभावकारी बनाउने र विपद्का समयमा निर्णय क्षमता अभिवृद्धि गर्ने प्रभावकारी माध्यम भएको धारणा व्यक्त गरेका थिए।

कार्यक्रमका सभाध्यक्ष श्री तेज प्रकाश जोशीले यस्ता अभ्यासहरूले वास्तविक विपद्का समयमा देखिन सक्ने चुनौतीहरूको पूर्वानुमान गर्न, सम्बन्धित निकायबीचको समन्वय सुदृढ गर्न तथा समयमै प्रभावकारी निर्णय लिन आवश्यक क्षमता विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।