बझाङ- बझाङको दुर्गाथली गाउँपालिकामा बाँठपाली देवताको मन्दिर निर्माणका क्रममा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारका अनुसार मन्दिर निर्माणका लागि ४५ लाख रुपैयाँ विनियोजन गरिएको थियो। निर्माण कार्यमा उपभोक्ता समितिले करिब ११ लाख ७ हजार रुपैयाँ बराबरको काम गर्ने तथा २ लाख २५ हजार रुपैयाँ कन्टिन्जेन्सी खर्च हुने उल्लेख भए पनि वास्तविक कामभन्दा २२ लाख १ हजार रुपैयाँ बढी भुक्तानी गरिएको दाबी गरिएको छ।
यस प्रकरणमा अख्तियारले छविसपाथिभेरा गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष राधिकाकुमारी रताला, वडा नं. ६ का तत्कालीन अध्यक्ष मोहनलाल विक तथा मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्ण बुढा, सचिव जयबहादुर बुढा र कोषाध्यक्ष मधुलीदेवी बुढासहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ।












