डोटी- डोटीको बोगटान फुड्सिल गाउँपालिका–३ स्थित पल्चौर सामुदायिक स्वास्थ्य केन्द्र करिब एक वर्षदेखि स्वास्थ्यकर्मीविहीन बनेपछि स्थानीयवासी आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित भएका छन्।
स्वास्थ्य केन्द्रमा कर्मचारी नहुँदा सामान्य ज्वरोको औषधि लिनसमेत स्थानीयले करिब तीन घण्टा पैदल हिँडेर कानाचौर स्वास्थ्य चौकी पुग्नुपर्ने बाध्यता रहेको छ। यसले विशेषगरी गर्भवती महिला, बालबालिका, ज्येष्ठ नागरिक र दीर्घरोगीलाई बढी समस्या परेको स्थानीयको गुनासो छ।
स्थानीय नरेन्द्र क्षेत्रीले स्वास्थ्य केन्द्रमा तत्काल स्वास्थ्यकर्मी खटाएर नियमित सेवा सञ्चालन गर्न माग गर्दै स्वास्थ्यजस्तो अत्यावश्यक सेवा लामो समयदेखि ठप्प हुनु दुःखद भएको बताए। उनका अनुसार यसबारे वडा, गाउँपालिका तथा सम्बन्धित निकायलाई पटक–पटक जानकारी गराए पनि समस्या समाधान हुन सकेको छैन।
वडा नं. ३ का अध्यक्ष कृष्ण बमले विगत छ महिनादेखि गाउँपालिकासँग स्वास्थ्यकर्मी व्यवस्थापनका लागि पहल गरिरहेको बताए। विकट क्षेत्रमा स्वास्थ्यकर्मी टिकाउन चुनौती भए पनि छिट्टै कर्मचारी खटाइने विश्वास उनले व्यक्त गरे।
कानाचौर स्वास्थ्य चौकीका इन्चार्ज हस्त बुढाका अनुसार एक जना स्वास्थ्यकर्मीले जागिर छाडेका र अर्का एक जनाको सरुवा भएपछि पल्चौर स्वास्थ्य केन्द्रको सेवा प्रभावित भएको हो। नयाँ दरबन्दी सिर्जना हुन नसक्दा हालसम्म स्वास्थ्यकर्मी खटाउन नसकिएको उनले बताए।
स्थानीयले स्वास्थ्य केन्द्रमा तत्काल कर्मचारी व्यवस्था गरी विकट क्षेत्रका नागरिकको आधारभूत स्वास्थ्य सेवाको अधिकार सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।












