कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रविन्द्र देवकोटामाथि सार्वजनिक कार्यक्रममा हातपात तथा दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेकी पत्रकार ऐश्वर्या कुँवर धरौटीमा रिहा भएकी छन्।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पाँच हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएपछि कुँवर मुक्त भएकी हुन्। सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीका अनुसार प्रमुख जिल्ला अधिकारी मदन कोइरालाको आदेशअनुसार धरौटी बुझाएपछि उनलाई रिहा गरिएको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले आदेश कार्यान्वयनसँगै कुँवरलाई हिरासतबाट छाडिएको जानकारी दिए। प्रहरीले उनीमाथि अनुसन्धानका लागि पहिलोपटक पाँच दिन र दोस्रोपटक तीन दिन गरी आठ दिन हिरासतमा राखेको थियो।
घटना महेन्द्रनगरस्थित एक होटलमा आयोजित सार्वजनिक कार्यक्रममा रिपोर्टिङका क्रममा भएको बताइएको छ। आपसी विवाद चर्किएपछि कुँवरले वडाध्यक्ष देवकोटामाथि मुक्का प्रहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। त्यसलगत्तै प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको थियो।
यता पत्रकार कुँवरले भने आफ्नो फेसबुकमार्फत भिडियो सार्वजनिक गर्दै वडाध्यक्ष देवकोटाले आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाएकी छन्।












