बैतडी– बैतडीमा मोबाइल बैंकिङ र सामाजिक सञ्जालको दुरुपयोग गरेर गरिने डिजिटल ठगीका घटना पछिल्लो समय उल्लेख्य रूपमा बढ्न थालेका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार जेठ महिनामा मात्रै मोबाइल बैंकिङ ह्याक गरी आठ लाख रुपैयाँभन्दा बढी रकम ठगी भएको भन्दै ११ वटा उजुरी दर्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता तथा प्रहरी निरीक्षक भुवन तिमिल्सेनाले ठगहरूले विभिन्न बहाना बनाएर सर्वसाधारणलाई जालमा पार्ने गरेको बताए। उनका अनुसार बैंक खाता जोखिममा परेको, ‘केवाईसी’ (KYC) अद्यावधिक गर्नुपर्ने, पासवर्ड परिवर्तन गर्नुपर्ने वा अनलाइन सामान खरिदसँग सम्बन्धित सूचना भन्दै फिसिङ (Phishing) लिंक पठाएर ठगी गर्ने प्रवृत्ति बढ्दै गएको छ।
प्रहरीका अनुसार ठगहरूले बैंक तथा वित्तीय संस्थाकै आधिकारिक सन्देशजस्तो देखिने एसएमएस वा सामाजिक सञ्जालमार्फत लिंक पठाउने गर्छन्। प्रयोगकर्ताले उक्त लिंकमा क्लिक गरेर आफ्नो मोबाइल बैंकिङको पासवर्ड, ओटीपी (OTP) वा अन्य गोप्य विवरण प्रविष्ट गरेपछि खातामा रहेको रकम तुरुन्तै अन्य बैंक खातामा स्थानान्तरण गरिने गरेको छ।
प्रहरीले यस्ता शंकास्पद लिंकमा क्लिक नगर्न, कुनै पनि अवस्थामा पासवर्ड, ओटीपी वा बैंकिङसम्बन्धी गोप्य विवरण कसैलाई नदिन तथा बैंक वा प्रहरीसँग तत्काल सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।












