२०८३ कार्तिक ११
खाेज्नुहाेस

दार्चुलामा श्रमदानबाट अढाई महिनामै बन्यो ७२ मिटर लामो झोलुङ्गे पुल

Image

दार्चुला – दार्चुलाको दुर्गम व्यास गाउँपालिका–२ स्थित काठा दुम्लिङमा श्रमदानमार्फत निर्माण गरिएको ७२ मिटर लामो झोलुङ्गे पुल अढाई महिनामै निर्माण सम्पन्न भएको छ। पुल सञ्चालनको तयारीसँगै उद्घाटनको मिति पनि तय गरिएको छ।

धरान उपमहानगरपालिकाका मेयर तथा प्रतिनिधिसभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) को अगुवाइमा निर्माण गरिएको उक्त पुलको शिलान्यास गत चैत २४ गते गरिएको थियो। त्यसयता देशका विभिन्न जिल्लाबाट पुगेका स्वयंसेवकहरूको निरन्तर श्रमदानबाट पुल निर्माण कार्य सम्पन्न भएको हो।

पुल निर्माण अभियानका एडमिन म्यानेजर नवीन राईका अनुसार करिब अढाई महिनाको अवधिमा निर्माण सम्पन्न भएको पुलको उद्घाटन असार १६ गते हर्क साम्पाङले गर्ने कार्यक्रम तय गरिएको छ।

उनका अनुसार पुल निर्माणमा चार सयभन्दा बढी स्वयंसेवकले श्रमदान गरेका छन्। नेपालका विभिन्न जिल्लाबाट आएका नागरिकहरूले आफ्नै खर्चमा दुम्लिङ पुगेर पुल निर्माणमा योगदान दिएका थिए। श्रमदाताको सहयोग र ऐक्यबद्धताकै कारण छोटो समयमै पुल निर्माण सम्भव भएको उनले बताए।

पुल सञ्चालनमा आएपछि स्थानीयवासीलाई वर्षौंदेखिको सास्तीबाट मुक्ति मिलेको छ। स्थानीय सविता बुढाथोकीले वर्षायाममा खोला तर्न ठूलो जोखिम मोल्नुपर्ने अवस्था अब अन्त्य भएको बताइन्। उनका अनुसार विद्यालय जाने बालबालिका, दैनिक आवतजावत गर्ने स्थानीय तथा अन्य सेवाग्राही सबैलाई पुलले ठूलो राहत दिएको छ।

यसअघि सोही स्थानमा दुई पटक सरकारी निकायबाट पुल निर्माणका लागि सर्वेक्षण भए पनि काम अघि बढ्न नसकेको स्थानीयहरूको भनाइ छ। त्यसका कारण वर्षौंदेखि स्थानीय जोखिमपूर्ण ढंगले खोला वारपार गर्न बाध्य थिए।

स्थानीय वीरेन्द्र बुढाथोकीले श्रमदानबाट यति छोटो अवधिमा पुल निर्माण हुनु प्रेरणादायी भएको बताए। सरकारी प्रक्रियाबाट यस्ता योजना कार्यान्वयन हुन वर्षौं लाग्ने उदाहरण धेरै रहेको उल्लेख गर्दै उनले श्रमदानको अभियान प्रभावकारी सावित भएको प्रतिक्रिया दिए।

स्थानीय द्रोपती जोहारीले पुल निर्माणपछि खोला तर्ने जोखिम पूर्ण रूपमा हटेको बताइन्। उनले अब विद्यार्थीदेखि सर्वसाधारणसम्म सबैलाई सुरक्षित आवतजावत गर्न सहज भएको उल्लेख गरिन्।

पुल निर्माणका इन्जिनियर डम्बर लिम्बूका अनुसार स्थानीयको आवश्यकता र मागलाई मध्यनजर गर्दै काठा दुम्लिङको स्थानीय खोलामाथि झोलुङ्गे पुल निर्माण गरिएको हो। वर्षायाममा खोला बढ्दा विद्यार्थी विद्यालय जान नसक्ने, यार्चागुम्बा संकलन गर्न जाने स्थानीयहरू समेत आवतजावतमा समस्या भोग्ने गरेपछि पुल निर्माणलाई प्राथमिकता दिइएको उनले बताए।

यद्यपि स्थानीयले लामो समयदेखि प्रयोग गर्दै आएको तुइन विस्थापन गरी भारतसँग सीमा जोडिएको महाकाली नदीमाथि नेपाल–भारत जोड्ने झोलुङ्गे पुल निर्माणको माग भने अझै पूरा हुन सकेको छैन।

यस विषयमा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले अन्तर्राष्ट्रिय सीमामा संरचना निर्माण गर्न नेपाल र भारत दुवै देशको सहमति आवश्यक पर्ने भएकाले तत्काल त्यस्तो पुल निर्माण सम्भव नरहेको बताएका छन्।

दुर्गम दुम्लिङमा श्रमदानमार्फत झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयवासीले राज्यको पहुँच नपुगेको क्षेत्रमा नागरिकको सक्रिय सहभागिताले विकास सम्भव भएको भन्दै खुसी व्यक्त गरेका छन्।