डडेल्धुरा – डडेल्धुराको भागेश्वर गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ। ‘पूर्ण खोप पाउनु सबै बालबालिकाको नैसर्गिक अधिकार हो’ भन्ने नारासहित आयोजित कार्यक्रममा जिल्ला खोप समन्वय समितिले गाउँपालिकालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरेको हो।
जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक गगन भण्डारीले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्दै पालिकाका अध्यक्ष हेमराज चटौतलाई प्रमाणपत्र हस्तान्तरण गरे।
कार्यक्रममा अध्यक्ष चटौतले पूर्ण खोप सुनिश्चितता अभियान सफल बनाउन योगदान पुर्याउने स्वास्थ्यकर्मी, कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका तथा सरोकारवाला सबै पक्षलाई धन्यवाद दिए। भौगोलिक विकटता, आर्थिक अभाव र अन्य चुनौतीका बीच पनि सबैको सहकार्यका कारण गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्न सम्भव भएको उनले बताए।
उनले खोप कार्यक्रमले बाल मृत्युदर घटाउन महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै गाउँपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए।
स्वास्थ्य शाखा प्रमुख मानबहादुर शाहका अनुसार गाउँपालिकाका सबै वडालाई यसअघि नै पूर्ण खोप सुनिश्चितता घोषणा गरिसकिएको थियो। सोही तथ्याङ्क र सूचकका आधारमा अहिले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो।
उनका अनुसार चालु आर्थिक वर्षमा १६ देखि ५९ महिनासम्मका ६०७ जना बालबालिकाले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत सबै खोप पूरा गरेपछि गाउँपालिकाले पूर्ण खोप सुनिश्चितताको मापदण्ड पूरा गरेको हो।
कार्यक्रममा पत्रकार शेर भण्डारीले खोपले बालबालिकामा विभिन्न रोगविरुद्ध प्रतिरोधात्मक क्षमता विकास गर्ने भएकाले कुनै पनि बालबालिका खोपबाट वञ्चित हुन नहुने बताए। उनले रोग लागेपछि उपचारमा ठूलो खर्च गर्नुको सट्टा समयमै खोप लगाएर रोगबाट बच्नु नै बुद्धिमानी हुने धारणा राखे।
स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख केशरबहादुर साउँदले खोप मानव जीवन रक्षाको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै बालबालिकालाई निःशुल्क उपलब्ध गराइने खोप कार्यक्रममा राज्यको ठूलो लगानी रहेको बताए। उनले महिला स्वास्थ्य स्वयंसेविकाको योगदानको उच्च मूल्यांकन गर्न स्थानीय तहलाई आग्रह गरे।
साउँदले जिल्लाका सबै स्थानीय तह पूर्ण खोप सुनिश्चितता घोषणा भएपछि क्रमशः जिल्लालाई, त्यसपछि प्रदेश र अन्ततः देशलाई नै पूर्ण खोपयुक्त घोषणा गर्ने लक्ष्य रहेको जानकारी दिए।
प्रमुख अतिथि गगन भण्डारीले पूर्ण खोप सुनिश्चितता स्थानीय तहको मात्र नभई समग्र सरकारको महत्वपूर्ण उपलब्धि भएको बताए। उनले खोपको महत्वलाई सामान्य रूपमा नलिन आग्रह गर्दै विगतमा देखिने गरेका विभिन्न महामारी तथा स्वास्थ्य समस्यामा खोपकै कारण उल्लेख्य कमी आएको बताए।
भण्डारीले खोप बालबालिकाको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै खोप कार्यक्रमका कारण बाल मृत्युदर घट्नुका साथै बालबालिकाको स्वास्थ्य अवस्थामा सुधार आएको र समाजमा सकारात्मक परिवर्तन देखिएको धारणा राखे। उनले खोपले १४ प्रकारका रोगबाट सुरक्षा प्रदान गर्ने भएकाले यस कार्यक्रमलाई साझा जिम्मेवारीका रूपमा अघि बढाउनुपर्ने बताए।
कार्यक्रमको अवसरमा उत्कृष्ट कार्य गर्ने महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मानसमेत गरिएको थियो।












