२०८३ कार्तिक १३
खाेज्नुहाेस

६ अर्बको जालपादेवी केबलकार असोजभित्र सञ्चालन गर्ने लक्ष्य

Image

कैलाली- माथिबाट बग्दै आएको नेपालको सबैभन्दा लामो कर्णाली नदी कैलालीको चिसापानी पुग्दा प्राकृतिक सौन्दर्यले जो–कोहीलाई लोभ्याउँछ। नदीमाथि बनेको एक खम्बे चिसापानी पुल, वरिपरिका हरिया डाँडा र शान्त वातावरणले यो क्षेत्रलाई सुदूरपश्चिमकै आकर्षक गन्तव्य बनाएको छ। यही प्राकृतिक सम्पदालाई आर्थिक समृद्धिसँग जोड्ने लक्ष्यसहित यहाँ जालपादेवी केबलकार परियोजना निर्माण भइरहेको छ।

कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापानीदेखि मोहन्याल गाउँपालिका–७ राजकाँडासम्म निर्माणाधीन केबलकार परियोजना आइएमई समूहको मुख्य लगानीमा अघि बढिरहेको छ। करिब ६ अर्ब रुपैयाँ लगानी अनुमान गरिएको यस परियोजनाअन्तर्गत ३.१ किलोमिटर लामो केबलकार, होटल, रेष्टुरेन्ट, स्काईवाक, पार्क, पदमार्गलगायतका पर्यटकीय पूर्वाधार निर्माण भइरहेका छन्।

परियोजनालाई सुदूरपश्चिमको पर्यटन, रोजगारी र आर्थिक विकासको ‘गेम चेन्जर’का रूपमा हेरिएको छ। स्थानीय व्यवसायी तथा उद्योगीहरूले यसले चिसापानीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरेका छन्।

असोजभित्र सञ्चालन गर्ने लक्ष्य

जालपादेवी केबलकार परियोजनाको निर्माणकार्य तीव्र गतिमा अघि बढेको छ। आयोजनाका इन्जिनियर विजय पौडेलका अनुसार हाल पोल ठड्याउने, बटम स्टेशन र टप स्टेशन निर्माणको काम अन्तिम चरणमा पुगेको छ। त्यसपछि तार तान्ने र गोण्डोला जडान गर्ने काम सुरु हुनेछ।

उनका अनुसार आगामी असोज महिनाभित्र केबलकार सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। टप स्टेशनमा होटल, रेष्टुरेन्ट, पार्क, जालपादेवी मन्दिर, स्काईवाक, वाकिङ ट्रेललगायतका संरचना निर्माण भइरहेका छन् भने बटम स्टेशनमा पाँचतारे होटल, बैंक्वेट हल र अन्य सुविधासम्पन्न संरचना बनाइँदै छन्।

पर्यटनसँगै अर्थतन्त्र चलायमान हुने अपेक्षा

नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमका अध्यक्ष पुष्पराज कुँवरले यति ठूलो निजी लगानीको पर्यटन आयोजना सुदूरपश्चिमका लागि ऐतिहासिक अवसर भएको बताए। उनका अनुसार केबलकार सञ्चालनमा आएपछि होटल, यातायात, कृषि, व्यापार र सेवा क्षेत्रले प्रत्यक्ष लाभ पाउनेछन्।

लम्की उद्योग वाणिज्य संघका अध्यक्ष दीपक तिमिल्सेनाले पनि करिब १३ वर्षअघिको सपना अहिले साकार हुने चरणमा पुगेको बताए। उनले राजकाँडा गर्मीयाममा शीतल वातावरण खोज्ने आन्तरिक तथा भारतीय पर्यटकका लागि उत्कृष्ट ‘हिल स्टेसन’ बन्न सक्ने विश्वास व्यक्त गरे।

रोजगारी र स्थानीय उत्पादनलाई टेवा

केबलकार सञ्चालनसँगै होटल, रिसोर्ट, रेष्टुरेन्ट, यातायात, मनोरञ्जन र सेवा क्षेत्र विस्तार हुने अपेक्षा गरिएको छ। यसबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा हजारौँ रोजगारी सिर्जना हुने स्थानीय व्यवसायीहरूको विश्वास छ।

पर्यटकको आगमन बढेपछि स्थानीय कृषिउपज, हस्तकला, होटल व्यवसाय, होमस्टे र साना उद्यमले नयाँ बजार पाउने अपेक्षा गरिएको छ। बसेरा थारू होमस्टेका अध्यक्ष किशोर थारूले स्थानीय संस्कृति, परम्परा र सीपलाई पर्यटनसँग जोडेर आर्थिक लाभ लिन सकिने बताए।

भारतीय पर्यटक पनि लक्ष्यमा

परियोजनाको अर्को विशेषता यसको भौगोलिक अवस्थिति हो। कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफन्टा र बाँकेको रूपैडिहा नाकाबाट सहज सडक पहुँच भएकाले भारतीय पर्यटकलाई आकर्षित गर्ने सम्भावना उच्च रहेको व्यवसायीहरू बताउँछन्।

उत्तराखण्ड, उत्तर प्रदेश, दिल्ली, लखनउ, देहरादुन, बरेली लगायतका भारतीय सहरबाट सडकमार्ग हुँदै सहजै पुग्न सकिने भएकाले धार्मिक, साहसिक र प्राकृतिक पर्यटनलाई एउटै प्याकेजमा विकास गर्न सकिने उनीहरूको भनाइ छ।

सुदूरपश्चिमको समृद्धिको आधार बन्ने विश्वास

आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले जालपादेवी केबलकारलाई केवल पर्यटन परियोजना नभई आर्थिक रूपान्तरणको माध्यमका रूपमा हेरिनुपर्ने बताए। उनका अनुसार पर्यटन पूर्वाधार विस्तारले पर्यटकको बसाइ लम्ब्याउने, स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउने र सुदूरपश्चिमको समृद्धिमा ठूलो योगदान पुर्‍याउनेछ।

ढकालले सातै प्रदेशमा यस्तै ठूला पर्यटन पूर्वाधार विकास गर्ने दीर्घकालीन योजना रहेको उल्लेख गर्दै जालपादेवी केबलकार त्यसको महत्वपूर्ण सुरुआत भएको बताए।

चिसापानी पुल, कर्णाली नदी र राजकाँडाको प्राकृतिक सौन्दर्यलाई एउटै पर्यटकीय परिपथमा जोड्ने यो परियोजनाले सुदूरपश्चिमको पर्यटन सम्भावनालाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।