कैलाली- कैलालीको मोहन्याल गाउँपालिका–७ अन्तर्गत जालपा सामुदायिक वन क्षेत्रमा सञ्चालन गरिएको फायरिङ तथा ग्रिनेड अभ्यासका क्रममा भएको विस्फोटमा नेपाली सेनाका एक हुद्दाको मृत्यु भएको छ भने एक सहसेनानी घाइते भएका छन्।
बिहीबार बिहान ९ः१७ बजे सुदूरपश्चिम पृतना तालिम शिक्षालय अन्तर्गत गोराङ्गे ब्यारेकले सञ्चालन गरेको अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा हुद्दा हिमाल विक्रम विष्ट गम्भीर घाइते भएका थिए। विस्फोटका कारण उनको दाहिने हातको हत्केला चुँडिनुका साथै शरीरका विभिन्न भागमा छर्रा लागेको थियो।
गम्भीर अवस्थामा रहेका विष्टलाई तत्काल उपचारका लागि लम्कीस्थित लालरत्न अस्पताल पुर्याइएको थियो। तर उपचारकै क्रममा दिउँसो करिब १२ बजे उनको मृत्यु भएको कैलाली जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।
उक्त घटनामा विष्ट नजिकै रहेका सहसेनानी हिमराज जोशी पनि छर्रा लागेर घाइते भएका छन्। उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ। थप उपचारका लागि उनलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ।
घटनाको कारणबारे नेपाली सेना र प्रहरीले थप अनुसन्धान गरिरहेका छन्।












