२०८३ कार्तिक १०
खाेज्नुहाेस

भागेश्वरमा विकास र पूर्वाधार केन्द्रित ५० करोडको बजेट

Image

डडेल्धुरा- डडेल्धुराको भागेश्वर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ५० करोड २० लाख ७२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

गाउँसभाको १९औँ अधिवेशनमा गाउँपालिका उपाध्यक्ष पुष्पा ठकुराठीले बजेट प्रस्तुत गर्दै संघीय तथा प्रदेश सरकारबाट प्राप्त अनुदान, राजस्व बाँडफाँट, आन्तरिक आय र गत आर्थिक वर्षको मौज्दातलाई आयको प्रमुख स्रोतका रूपमा उल्लेख गरिन्।

प्रस्तुत बजेटअनुसार संघीय सरकारबाट सशर्त चालु अनुदानतर्फ १८ करोड ५१ लाख रुपैयाँ, सशर्त पुँजीगत अनुदानतर्फ २ करोड ७२ लाख रुपैयाँ, वित्तीय समानीकरण अनुदानतर्फ ८ करोड ४८ लाख रुपैयाँ तथा राजस्व बाँडफाँटमार्फत ९ करोड ४४ लाख ४१ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

यस्तै प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण, समपूरक तथा विशेष अनुदानलाई समेत बजेटको महत्वपूर्ण स्रोतका रूपमा समेटिएको छ।

व्ययतर्फ गाउँपालिकाले समपूरक कोष, गाउँपालिकास्तरीय योजना तथा कार्यक्रम, क्रमागत योजनाको निरन्तरता, विषयगत शाखा, क्षेत्रगत कार्यक्रम, वडास्तरीय योजना तथा चालु खर्चलाई प्राथमिकतामा राखेको जनाएको छ।

बजेटमा गाउँपालिकास्तरीय योजना तथा कार्यक्रमका लागि ३ करोड ८ लाख ५० हजार रुपैयाँ, क्रमागत योजनाका लागि २ करोड ७७ लाख रुपैयाँ, विषयगत शाखा तथा क्षेत्रगत कार्यक्रमका लागि ३ करोड ६२ लाख रुपैयाँ तथा वडास्तरीय योजनाका लागि १ करोड ३७ लाख रुपैयाँ विनियोजन गरिएको छ।

संघीय तथा प्रदेश सरकारबाट प्राप्त सशर्त, समपूरक र विशेष अनुदानअन्तर्गत सञ्चालन हुने कार्यक्रमका लागि सम्बन्धित शीर्षकमा आवश्यक बजेट व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ।