२०८३ कार्तिक १२
खाेज्नुहाेस

डडेल्धुराको गन्यापधुरामा २९ करोडभन्दा बढी चालु बजेट विनियोजन

Image

डडेल्धुरा-  डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४८ करोड ३८ लाख ८७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

बुधबार आयोजित गाउँसभामा गाउँपालिका उपाध्यक्ष ज्ञानुकुमारी सेटी देउवाले उक्त बजेट प्रस्तुत गरेकी हुन्। बजेटअनुसार चालुतर्फ २९ करोड ५८ लाख ८६ हजार ९ सय रुपैयाँ र पुँजीगततर्फ १८ करोड ८० लाख १ सय रुपैयाँ विनियोजन गरिएको छ।

गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकास, खानेपानी, सामाजिक सुरक्षा तथा डिजिटल सुशासनलाई प्राथमिकतामा राख्दै बजेट तर्जुमा गरिएको जनाएको छ। यी क्षेत्रलाई आगामी वर्षको विकासको प्रमुख आधारका रूपमा अघि बढाइने उपाध्यक्ष देउवाले बताइन्।

यसअघि सार्वजनिक गरिएको वार्षिक नीति तथा कार्यक्रममा पनि गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राख्ने घोषणा गरेको थियो।

उपाध्यक्ष देउवाका अनुसार गाउँपालिकामा हालसम्म २६५ किलोमिटर सडक निर्माण सम्पन्न भइसकेको छ। त्यस्तै ‘एक घर–एक धारा’ कार्यक्रममार्फत ७५ प्रतिशत घरधुरीमा स्वच्छ खानेपानी सेवा विस्तार गरिएको छ।

यस्तै, १५० रोपनी बाँझो जमिनलाई खेतीयोग्य बनाइएको जानकारी दिँदै उनले कृषि उत्पादन वृद्धि र आत्मनिर्भरता प्रवर्द्धनमा गाउँपालिकाले विशेष जोड दिएको बताइन्।

गाउँपालिका अध्यक्ष इन्द्रबहादुर कार्कीले आर्थिक विकास, प्रभावकारी सेवा प्रवाह तथा ग्रामीण पूर्वाधार विस्तारलाई केन्द्रमा राखेर बजेट कार्यान्वयन गरिने बताए।