दार्चुला- चीनको ताक्लाकोट बजारसँग जोडिएको दार्चुलाको तिङ्कर भन्ज्याङ नाका खुला भएको छ। उत्तरी दार्चुलाको व्यास गाउँपालिका–१ अन्तर्गत पर्ने तिङ्कर नाका खुलेसँगै स्थानीय सौका समुदायका व्यापारीहरू व्यापारका लागि चीनतर्फ जान थालेका छन्।
गत वर्षको कात्तिक अन्तिम साता बन्द भएको नाका सोमबारदेखि पुनः सञ्चालनमा आएको व्यास गाउँपालिका–१ छाङरुका स्थानीय व्यापारी तथा नेपाल–चीन हिमालय मैत्री सङ्घका केन्द्रीय सदस्य योगेश बोहराले जानकारी दिए।
उनका अनुसार चिनियाँ पक्षले विगतको अभ्यासलाई निरन्तरता दिँदै छाङरु र तिङ्कर गाउँका सौका समुदायका बासिन्दालाई अनौपचारिक रूपमा ताक्लाकोट प्रवेशको अनुमति दिएको हो।
सदियौँदेखि छाङरु र तिङ्करका स्थानीयहरू चीनको स्वशासित तिब्बती क्षेत्रस्थित ताक्लाकोट बजारमा व्यापारका लागि जाने गरेका छन्। कोभिड–१९ महामारीका कारण लामो समय बन्द रहेको यो नाका पछिल्ला केही वर्षयता सीमित रूपमा सञ्चालन हुँदै आएको छ।
तिङ्कर नाका औपचारिक अन्तर्राष्ट्रिय नाका नभए पनि स्थानीय सौका समुदायले ताक्लाकोटस्थित स्थानीय प्रशासनसँगको समन्वयमा वर्षौँदेखि व्यापारिक आवतजावत गर्दै आएका छन्।
योगेश बोहराका अनुसार यस वर्ष पनि ताक्लाकोटस्थित स्थानीय सरकार र विदेश विभागका प्रतिनिधिसँग समन्वय गरेर नाका सञ्चालनको व्यवस्था गरिएको हो। नाका खुलेसँगै हालसम्म ६३ जना स्थानीय व्यापारी ताक्लाकोट पुगिसकेका छन्।
“हामी केही महिनासम्म ताक्लाकोटमा खाद्यान्न, लत्ताकपडा तथा दैनिक उपभोग्य सामग्रीको व्यापार गर्छौँ। त्यही व्यापारबाट प्राप्त आम्दानीले परिवारको जीविका चलाउने गरेका छौँ,” बोहराले भने।
ताक्लाकोट क्षेत्रमा हाल दार्चुलाका स्थानीयले ३२ वटा पसल र चार वटा होटल सञ्चालन गरिरहेको बताइएको छ। गत वर्ष पनि साउन महिनामा सीमित अवधिका लागि नाका खोलिएको थियो।
स्थानीयको आवश्यकता अनुसार ताक्लाकोटको स्थानीय सरकारले नाका खोल्ने र बन्द गर्ने अभ्यास रहेको व्यापारीहरू बताउँछन्।
नेपाल–चीन सीमास्थित तिङ्कर नाका खुलेको विषयमा स्थानीय बासिन्दाले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई जानकारी गराएका छन्।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले नाका सञ्चालनमा आएको विषय जानकारीमा रहेको बताउँदै आवश्यक जानकारी सम्बन्धित मन्त्रालयमा पठाइने बताए।
“विगतदेखि नै ताक्लाकोट व्यापार गर्दै आएका स्थानीयहरूसँगको समन्वयमा नाका खुलेको हो। यसबारे मन्त्रालयलाई जानकारी गराउँछौँ,” उनले भने।
जिल्ला प्रशासन कार्यालयका अनुसार यस वर्ष ताक्लाकोट जानका लागि व्यास गाउँपालिकाका २१२ जनाले तिब्बत प्रवेश अनुमतिपत्र लिएका छन्।
सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीका अनुसार तीमध्ये १५२ जनाले पुरानो अनुमतिपत्र नवीकरण गराएका छन् भने ६० जनाले पहिलो पटक अनुमतिपत्र लिएका हुन्।
चीनले तिङ्कर भन्ज्याङको १ नम्बर सीमास्तम्भबाट करिब आधा घण्टाको दूरीमा पर्ने ‘सापु’ क्षेत्रमा सुरक्षाकर्मी बस्ने संरचना निर्माण गरी कच्ची सडक विस्तार गरिसकेको छ।
चीनतर्फ सापुमा सुरक्षा चेकपोस्ट सञ्चालनमा रहेको छ भने नेपालतर्फ व्यास गाउँपालिका–१ तिङ्कर गाउँको छियालेक क्षेत्रमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) र नेपाल प्रहरीको चौकी सञ्चालनमा छन्।
कोभिड–१९ महामारीका कारण लामो समय बन्द रहेको ताक्लाकोट नाका आर्थिक वर्ष २०८०/८१ देखि व्यापारीहरूको सीमित आवतजावतका लागि पुनः खुल्न थालेको हो। नाका सञ्चालनसँगै उत्तरी दार्चुलाका स्थानीय व्यापारीहरूमा आर्थिक गतिविधि पुनः चलायमान हुने अपेक्षा गरिएको छ।












