कञ्चनपुर – जनप्रतिनिधिसँग विवाद तथा हातपात गरेको आरोपमा पक्राउ परेकी सञ्चारकर्मी ऐश्वर्या कुँवरमाथि प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सोमबार जारी गरेको विज्ञप्तिमार्फत कुँवरविरुद्ध ‘अभद्र व्यवहार’ शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जानकारी दिएको हो।
कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार कुँवरले भीमदत्त नगरपालिका–१८ का वडा अध्यक्ष रवीन्द्र देवकोटा तथा भीमदत्त नगरपालिकाकी कार्यपालिका सदस्य सीता देवी भण्डारीसँग वादविवाद र हातपात गरेकी थिइन्।
प्रहरीका अनुसार महेन्द्रनगरस्थित होटल स्वीट ड्रिममा वडा कार्यालयको आयोजनामा ‘सुनौलो भविष्य बाल क्लब’मा आबद्ध बालबालिकाका लागि सञ्चालन गरिएको तीन दिने नेतृत्व विकास तालिमका क्रममा उक्त घटना भएको हो।
पत्रकार महासंघ कञ्चनपुरकी सदस्यसमेत रहेकी कुँवर र जनप्रतिनिधिबीच भएको भनिएको विवाद तथा हातपातको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।












