२०८३ कार्तिक १३
खाेज्नुहाेस

वर्षौंदेखिको समस्या समाधानतर्फ गन्यापधुरा, पालिका मुकाम जोड्ने सडक फराकिलो बन्दै

Image

डडेल्धुरा – प्राकृतिक सौन्दर्य, धार्मिक आस्था, ऐतिहासिक महत्व तथा सांस्कृतिक विविधताले परिचित गन्यापधुरा गाउँपालिकाको मुख्य सडक विस्तारको काम तीव्र गतिमा अघि बढाइएको छ। गाउँपालिकाको केन्द्र गणेशपुरलाई विभिन्न बस्ती तथा मुख्य राजमार्गसँग सहज रूपमा जोड्ने उद्देश्यले रडुवा–कलारीमाण्डौँ–गणेशपुर सडक स्तरोन्नतिको काम भइरहेको हो।

संघीय संरचना कार्यान्वयनसँगै साविकका असिग्राम, गणेशपुर, मष्टामाण्डौँ र कैलपालमाण्डौँ गाविसलाई समेटेर गन्यापधुरा गाउँपालिका गठन गरिएको थियो। तर पालिका केन्द्र जोड्ने सडक व्यवस्थित नहुँदा स्थानीयवासीले वर्षौंदेखि सास्ती भोग्दै आएका थिए। साँघुरा तथा कच्ची ग्रामीण सडक वर्षायाममा अवरुद्ध हुँदा सर्वसाधारणको आवागमन मात्रै नभई प्रशासनिक कामकाजसमेत प्रभावित हुने गरेको थियो।

गाउँपालिकाले मुख्य प्राथमिकताका साथ सडक पूर्वाधार सुधारलाई अघि बढाएपछि चालु आर्थिक वर्षमा रडुवा–कलारीमाण्डौँ–गणेशपुर सडक विस्तारको काम सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत दिलीप तामाङले जानकारी दिए।

उनका अनुसार स्थानीय पूर्वाधार विकास कार्यालयमार्फत विनियोजित ३ करोड रुपैयाँको बजेटमा सडकको करिब चार किलोमिटर खण्ड विस्तार तथा स्तरोन्नतिको काम भइरहेको छ।

ठेक्का सम्झौतामार्फत सडक फराकिलो बनाउने, आवश्यक स्थानमा पर्खाल तथा नाली निर्माण गर्ने र डडेल्धुरा–दिपायल सेतीमार्गको सुरुआती उकालो खण्डमा करिब ५ सय मिटर आरसीसी ढलान गर्ने काम भइरहेको उनले बताए।

निर्माण सम्पन्न भएपछि सडकको चौडाइ नालीबाहेक पाँच मिटर रहनेछ। वर्षायाममा समेत सडक पूर्ण रूपमा अवरुद्ध नहुने र सेती राजमार्गको कालोपत्रे सडकबाट छोटो दूरीमै गाउँपालिका केन्द्र पुग्न सकिने भएकाले यस सडकलाई उच्च प्राथमिकतामा राखिएको तामाङले बताए।

उनका अनुसार उक्त सडकले गाउँपालिका केन्द्रसँगै मालीगाउँ, कोरगाउँ, चम्साललगायत आधा दर्जनभन्दा बढी बस्तीलाई प्रत्यक्ष रूपमा जोड्नेछ। सडक स्तरोन्नतिपछि स्थानीयवासीको आवागमन, सेवा पहुँच तथा आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

१३५ दशमलव ६५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको गन्यापधुरा गाउँपालिकाको जनसंख्या १३ हजार ७२२ रहेको छ। स्थानीयवासीले सडक विस्तार कार्य समयमै सम्पन्न भए वर्षौंदेखि भोग्दै आएको यातायात समस्याको समाधान हुने विश्वास व्यक्त गरेका छन्।