२०८३ कार्तिक १३
खाेज्नुहाेस

बुडर बजारका व्यवसायीको माग– तत्काल १५ मिटरमै सडक विस्तार सीमित गरियोस्

Image

डोटी- डोटीको जोरायल गाउँपालिका–२ स्थित बुडर बजार क्षेत्रमा प्रस्तावित २५ मिटर सडक विस्तारको योजनाविरुद्ध स्थानीय व्यवसायी तथा सरोकारवालाहरूले संघर्ष समिति गठन गरेका छन्।

बजार क्षेत्रमा सडकको दायाँ–बायाँ २५/२५ मिटर विस्तार गरिए ठूलो संख्यामा घरटहरा तथा व्यवसाय प्रभावित हुने भन्दै व्यवसायीहरूले उक्त निर्णयप्रति असहमति जनाएका हुन्। उनीहरूले हाललाई सडक विस्तार १५ मिटरमै सीमित गर्न र आवश्यक परे भविष्यमा योजनाबद्ध रूपमा विस्तार गर्न सरकारसँग माग गरेका छन्।

संघर्ष समितिका अनुसार सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममार्फत बुडर बजार क्षेत्रमा तत्काल २५ मिटर सडक विस्तार गर्ने तयारी भइरहेको जानकारी प्राप्त भएपछि व्यवसायीहरू एकजुट भएका हुन्। यस विषयमा बिहीबार आयोजित भेलाले सम्बन्धित निकायको ध्यानाकर्षण गराउने, विभिन्न सरकारी कार्यालयमा ज्ञापनपत्र बुझाउने तथा व्यवसायीहरूको हकहित संरक्षणका लागि संघर्ष समिति गठन गर्ने निर्णय गरेको छ।

गठित संघर्ष समितिको संयोजकमा चन्द्र कुँवर चयन भएका छन्। समितिका सदस्यहरूमा गणेश ऐर, सन्दीप गुरुङ, प्रेमबहादुर रावल, देवराज जोशी, कृष्ण विष्ट र मुकुन्द प्रसाद पन्त रहेका छन्।

भेलाले आफ्ना निर्णय कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालय डोटीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापनपत्र पेश गर्ने निर्णयसमेत गरेको जनाएको छ।

स्थानीय व्यवसायी अर्जुन सिंह महराले सडक विस्तारका कारण बजारको अस्तित्व, व्यवसाय तथा जनजीवनमा प्रत्यक्ष असर पर्ने भएकाले तत्काल उक्त योजना कार्यान्वयन नगर्न सरकारसँग माग गरिएको बताए। माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने संघर्ष समितिले चेतावनी दिएको छ।