२०८३ कार्तिक १२
खाेज्नुहाेस

मनसुनजन्य विपद्का लागि हेलिकप्टरदेखि सबै स्रोत परिचालन गरिने : गृहमन्त्री गुरुङ

Image

काठमाडौँ –  गृहमन्त्री सुधन गुरुङले मनसुनजन्य विपद् व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेर आवश्यक पूर्वतयारी गरिरहेको बताएका छन्। बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का घटनामा नागरिकको सुरक्षा सुनिश्चित गर्न हेलिकप्टरसहित सुरक्षा निकायका सम्पूर्ण स्रोतसाधन परिचालन गरिने उनले स्पष्ट पारे।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री गुरुङले विपद् व्यवस्थापनका लागि सुरक्षा निकायहरूलाई परिचालन गरिसकिएको जानकारी दिए।

उनले औपचारिक निरीक्षणभन्दा पनि नागरिकको प्रत्यक्ष सुरक्षा, उद्धार तथा राहत कार्यलाई केन्द्रमा राखेर काम गरिने बताए। सम्भावित विपद्का बेला तत्काल प्रतिक्रिया दिन सक्ने गरी आवश्यक संयन्त्र निर्माण गरिएको पनि उनले उल्लेख गरे।

गृहमन्त्री गुरुङका अनुसार अघिल्ला सरकारहरूले विपद् व्यवस्थापनका क्षेत्रमा गरेका सकारात्मक कामलाई निरन्तरता दिँदै कमजोरी सुधार गरेर थप प्रभावकारी ढंगले अघि बढ्ने नीति लिइएको छ।

सडक अवरोध हटाउन डिजिटल प्रणाली

मनसुनका बेला पूर्व–पश्चिम राजमार्गसहित निर्माणाधीन सडक खण्डहरूमा बाढी र पहिरोका कारण यातायात अवरुद्ध हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै गृह मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग समन्वय गरिरहेको उनले बताए।

उनका अनुसार सडक अवरोध हटाउन आवश्यक डोजर तथा अन्य उपकरण कहाँ–कहाँ उपलब्ध छन् भन्ने जानकारी दिने विशेष डिजिटल प्रणाली (एप) विकास गरिएको छ। उक्त प्रणालीमार्फत कुनै क्षेत्रमा पहिरो वा सडक अवरोध भएमा नजिकको उपकरण तत्काल परिचालन गरी सडक खुलाउने व्यवस्था मिलाइएको छ।

यसले विगतमा जस्तै यात्रुहरू लामो समयसम्म सडकमा अलपत्र पर्ने अवस्थालाई न्यूनीकरण गर्ने विश्वास उनले व्यक्त गरे।

सुरक्षा निकायलाई नागरिकमैत्री सेवा दिन निर्देशन

गृहमन्त्री गुरुङले प्राकृतिक विपद्बाट विगतमा नागरिकले भोग्नुपरेको क्षतिको अनुभवलाई आधार बनाएर यसपटक थप प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता जनाए।

उनले प्रहरी तथा अन्य सुरक्षा निकायलाई नागरिकमैत्री सेवा प्रवाह गर्न निर्देशन दिइएको जानकारी दिँदै अपराध नियन्त्रण, सुशासन प्रवर्द्धन तथा सेवाको गुणस्तर सुधारमा कुनै सम्झौता नगर्ने बताए।

सुरक्षा निकायभित्र कार्यसम्पादनका आधारमा मूल्याङ्कन र पदोन्नति गर्ने नीति अघि बढाइएको उल्लेख गर्दै उनले राजनीतिक दबाब वा पहुँचका आधारमा हुने पदोन्नतिको प्रवृत्ति अन्त्य गर्ने दाबी गरे।

नागरिकको सुरक्षा, विपद् प्रतिकार्य तथा प्रभावकारी सेवा प्रवाहलाई केन्द्रमा राखेर गृह मन्त्रालय अघि बढ्ने उनले बताए।