२०८३ कार्तिक ११
खाेज्नुहाेस

सुदूरपश्चिम सरकारले मध्यरातमा ल्यायो पौने ३८ अर्बको बजेट, के छन् प्राथमिकता ?

Image

धनगढी-  सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अहिलेसम्मकै ठूलो आकारको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले सोमबार मध्यराति प्रदेश सभामा ३७ अर्ब ७० करोड रुपैयाँको बजेट प्रस्तुत गरेका हुन्।

प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटभन्दा करिब ४ अर्ब २५ करोड रुपैयाँ बढी बजेट ल्याएको हो। चालु आर्थिक वर्ष २०८२/८३ मा प्रदेशको बजेट ३३ अर्ब ४५ करोड ५१ लाख रुपैयाँ रहेको छ।

सरकारले चालु आर्थिक वर्षको सम्भावित बचत, आन्तरिक राजस्वमा भएको वृद्धि तथा प्राकृतिक स्रोतबाट प्राप्त हुने आम्दानीलाई आधार बनाएर बजेटको आकार विस्तार गरेको जनाएको छ। यससँगै आगामी वर्षको बजेट सुदूरपश्चिम प्रदेशको इतिहासकै सबैभन्दा ठूलो बजेट बनेको छ।

बजेट प्रस्तुत गर्नका लागि प्रदेश सभाको बैठक सुरुमा सोमबार साँझ ५ बजेका लागि तय गरिएको थियो। तर सत्तारूढ नेकपा (एमाले) ले सिफारिस गरेका आयोजना, प्रदेश सभा सदस्यका क्षेत्रगत योजना तथा मन्त्रालयगत बजेट बाँडफाँटका विषयमा असहमति जनाएपछि बैठक पटक–पटक प्रभावित भएको थियो। अन्ततः राति अबेर मात्र बजेट प्रस्तुत गरिएको हो।

मध्यरातिमा बजेट ल्याउनुपरेको भन्दै प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टीले भने प्रदेश सभाको बैठक बहिष्कार गरेको थियो। प्रतिपक्षी दलले बजेट ढिलाइका कारणबारे स्पष्ट पार्न सरकारसँग मागसमेत गरेको छ।

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश संरचना कार्यान्वयनपछि पहिलोपटक आर्थिक वर्ष २०७४/७५ मा १ अर्ब २ करोड ५ लाख रुपैयाँको आंशिक बजेट ल्याएको थियो। त्यसयता बजेटको आकार निरन्तर उतारचढाव हुँदै आएको छ। आर्थिक वर्ष २०७५/७६ मा २५ अर्ब ६ करोड ५६ लाख, २०७६/७७ मा २९ अर्ब २३ करोड ३० लाख, २०७७/७८ मा ३४ अर्ब ६४ करोड ३९ लाख रुपैयाँको बजेट ल्याइएको थियो।

त्यसैगरी आर्थिक वर्ष २०७८/७९ मा ३१ अर्ब १७ करोड ५६ लाख, २०७९/८० मा ३६ अर्ब ३३ करोड ८९ लाख, २०८०/८१ मा २९ अर्ब २६ करोड ५९ लाख तथा २०८१/८२ मा ३१ अर्ब ६२ करोड ९८ लाख रुपैयाँको बजेट सार्वजनिक गरिएको थियो।

आगामी आर्थिक वर्षका लागि ल्याइएको ३७ अर्ब ७० करोड रुपैयाँको बजेटले प्रदेश सरकारको खर्च क्षमता, राजस्व व्यवस्थापन र विकास प्राथमिकताको परीक्षण गर्ने अपेक्षा गरिएको छ।