अछाम- अछामको ढकारी गाउँपालिका–४ बलातामा घरबाट हराइरहेकी एक महिला जंगलमा मृत अवस्थामा फेला परेकी छन्।
शुक्रबार बिहान करिब ११ बजे घरबाट हराएकी ढकारी–४ बलाता निवासी ३५ वर्षीया मनिषादेवी साउँद खोजीका क्रममा जंगलमा झुन्डिएको अवस्थामा मृत भेटिएकी हुन्। उनी सोही वडाकी महिला वडा सदस्यसमेत रहेको जनाइएको छ।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार परिवारले शनिबार दिउँसो करिब २ बजे प्रहरी चौकी ढकारीमा हुलिया सहित निवेदन दिएपछि प्रहरी टोली र स्थानीयवासीको सहयोगमा खोजतलास सुरु गरिएको थियो।
खोजीका क्रममा आइतबार साँझ करिब ४:५० बजे उनी घरदेखि करिब पाँच सय मिटर टाढा पर्ने पाले वन क्षेत्रभित्र सालको रूखमा प्लास्टिकको डोरी प्रयोग गरी घाँटीमा पासो लगाएको अवस्थामा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी ओमप्रकाश खनालले जानकारी दिए।
डिएसपी खनालका अनुसार घटनासम्बन्धी अनुसन्धानका क्रममा एक जनालाई नियन्त्रणमा लिइएको छ। तर, पक्राउ परेकाको पहिचान हाल सार्वजनिक नगरिएको उनले बताए।
प्रहरीले मृतकको शव पोष्टमार्टमका लागि अस्पतालमा राखेको जनाएको छ। यद्यपि परिवारका तर्फबाट हालसम्म किटानी जाहेरी भने दर्ता नभएको जनाइएको छ।
मृतक साउँदका पति रोजगारीका लागि भारतमा रहेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












