दार्चुला- सुदूरपश्चिम प्रदेश सरकारको गौरवको योजनाका रूपमा घोषणा गरिएको दार्चुलाको खलङ्गा–खार–देथला–पारीबगड सडकखण्ड अझै पूर्ण रूपमा निर्माण हुन सकेको छैन। आर्थिक वर्ष २०७५/७६ मा प्रदेश सरकारले यो सडकलाई गौरवको आयोजना घोषणा गर्दै निर्माण कार्य सुरु गरेको थियो।
ट्र्याक खुलिसकेको करिब ९५ किलोमिटर सडकमध्ये २०७९ साल भदौमा गराकुखोलामा आएको भीषण बाढीले करिब सात किलोमिटर सडक पूर्ण रूपमा क्षति पुर्याएको थियो। हाल सदरमुकाम खलङ्गादेखि नौगाड गाउँपालिका–२ दल्लेकसम्मको १५ किलोमिटर खण्डमध्ये क्षतिग्रस्त भागमा पुनर्निर्माण कार्य भइरहेको पूर्वाधार विकास कार्यालय बैतडीका इन्जिनियर जितेन्द्रसिंह धामीले जानकारी दिएका छन्।
खलङ्गा–खार हुँदै गोकुलेश्वर जोड्ने छोटो मार्गका रूपमा रहेको यो सडक अधुरै रहँदा स्थानीयवासी जोखिमपूर्ण यात्रामा बाध्य छन्। हाल करिब १९ करोड रुपैयाँ लागतमा आठ किलोमिटर सडकखण्डमा कालोपत्रेका लागि आवश्यक पूर्वाधार निर्माणका काम अघि बढाइएको छ।
इन्जिनियर धामीका अनुसार आव २०७७/७८ मै कालोपत्रेका लागि ठेक्का भए पनि वास्तविक काम भने यस वर्षदेखि मात्र सुरु भएको हो।
महाकाली नगरपालिका–२ का मुल्ला, मैखोली र सेला तथा वडा नं. ३ का काँटैदेखि डुङ्रीसम्मका खण्डमा सवारीसाधन सञ्चालन निकै कठिन रहेको स्थानीय उदय बोहराले बताएका छन्। स्थानीय जिप चालक बिसनसिंह नगालका अनुसार डुङ्रीसम्म केही सुधार भए पनि त्यसभन्दा माथिको सडकमा यात्रा गर्नु जोखिमपूर्ण छ।
स्थानीयका अनुसार यो सडक बर्सातको समयमा प्रायः अवरुद्ध हुने गर्छ, जसले महाकाली नगरपालिका–२ र नौगाड गाउँपालिकाका बासिन्दालाई ठूलो समस्या पुर्याएको छ। नौगाडका स्थानीय मङ्गलसिंह ठगुन्नाले कृषि उत्पादन बजारसम्म पुर्याउन समेत कठिनाइ भइरहेको बताएका छन्।
हाल डुङ्री, काँटैलगायतका क्षेत्रमा ग्याबिन जाली, आरसिसी संरचना तथा कलभर्ट निर्माणको काम भइरहेको छ। प्रदेश सरकारमार्फत साना–ठूला गरी दार्चुलामा ३३ वटा सडक आयोजना सञ्चालनमा छन्, तर बजेट अभावका कारण काम अपेक्षाकृत गति लिन नसकेको जनाइएको छ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणको तयारी भइरहेका बेला स्थानीयवासी, जनप्रतिनिधि तथा सरोकारवालाहरूले स्वास्थ्य, शिक्षा, सडक र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्न सरकारसँग माग गर्दै आएका छन्।












