बैतडी- बैतडीको दशरथचन्द नगरपालिका–६ थलीगडास्थित कालिका माध्यमिक विद्यालयमा एक शिक्षकले कक्षा १० मा अध्ययनरत छात्रामाथि विद्यालय परिसरभित्रै यौन दुर्व्यवहार गरेको गम्भीर आरोप लागेको छ।
घटनापछि विद्यालय प्रशासनले आरोपित शिक्षकलाई सेवाबाट बर्खास्त गरेको छ भने प्रहरीले उजुरी दर्ता गरी अनुसन्धान अघि बढाएको जनाएको छ।
पीडित पक्षका अनुसार राहत कोटामा कार्यरत शिक्षक नरेशबहादुर चन्दले करिब एक साताअघि, जेठ २२ गते, कक्षाकोठामा छात्रा एक्लै रहेको अवस्थामा अनुचित व्यवहार गरेका थिए।
घटनापछि छात्राले घरपरिवारलाई जानकारी गराएपछि विषय बाहिर आएको हो। त्यसपछि विद्यालय प्रशासन, सरोकारवाला निकाय तथा स्थानीय पक्षबीच आकस्मिक छलफल समेत भएको बताइएको छ।
छलफलका क्रममा आरोपित शिक्षकविरुद्ध यसअघि पनि यस्तै प्रकृतिका गुनासाहरू पटक–पटक उठ्ने गरेको र ती विषय विद्यालयस्तरमै मिलापत्र गरेर सामसुम पारिएको आरोपसमेत उठेको स्रोतले जनाएको छ।
यसपटक भने घटनाप्रति व्यापक चासो र दबाब बढेपछि विद्यालय प्रशासनले कडा निर्णय लिँदै शिक्षकलाई सेवाबाट बर्खास्त गरेको हो। विद्यालयका प्रधानाध्यापक पदमराज लेखकका अनुसार नरेशबहादुर चन्दलाई विद्यालयबाट हटाइएको छ।
यता जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार पीडित पक्षले जेठ ३० गते औपचारिक जाहेरी दर्ता गरिसकेको छ। प्रहरीका अनुसार आरोपित शिक्षक सम्पर्कमा आइसकेका छन् र घटनाबारे आवश्यक अनुसन्धान अघि बढाइएको छ।
प्रहरीले घटनाको सूक्ष्म अनुसन्धान भइरहेको जनाउँदै प्राप्त प्रमाण, पीडितको बयान तथा अन्य तथ्यका आधारमा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ।
यस घटनाले विद्यालयजस्तो संवेदनशील शैक्षिक वातावरणमा विद्यार्थी सुरक्षाको प्रश्न, बालअधिकार संरक्षण तथा यौनजन्य दुर्व्यवहारका उजुरीमाथि समयमै निष्पक्ष छानबिन र कडा कानुनी कारबाहीको आवश्यकता पुनः उजागर गरेको छ। अन्तिम निष्कर्ष भने अनुसन्धान र न्यायिक प्रक्रियाबाट टुंगो लाग्नेछ।












