बाजुरा- बाजुरा र हुम्लाको सीमा क्षेत्रमा बढ्दो तनाव तथा स्थानीयबीचको विवादलाई मध्यनजर गर्दै हिमाली गाउँपालिका–३ स्थित लामापाटामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त अस्थायी सुरक्षा बेस क्याम्प स्थापना गरिएको छ ।
बाजुरा र हुम्लाका स्थानीयबीच सीमा विवादले उग्र रूप लिएपछि क्षेत्रको सुरक्षा अवस्था सुदृढ गर्न तथा स्थानीयवासीको सुरक्षाका लागि संयुक्त सुरक्षा टोली परिचालन गरिएको हो ।
सशस्त्र प्रहरी बल बाजुराका प्रमुख खडकबहादुर शाहीका अनुसार सशस्त्र प्रहरी बलबाट प्रहरी निरीक्षक जनक पौडेलको नेतृत्वमा २१ जना र नेपाल प्रहरीबाट प्रहरी सहायक निरीक्षक मिठ्ठु बोहोराको नेतृत्वमा सात जनाको टोली लामापाटामा खटाइएको छ ।
गत जेठ ३ गते हुम्लाको खार्पुनाथ गाउँपालिकाका केही बासिन्दाले बाजुराको हिमाली गाउँपालिका–३ स्थित लामापाटाका स्थानीयमाथि आक्रमण गरेको आरोप छ । उक्त घटनामा केही स्थानीय घाइते भएका थिए । त्यसयता सुरक्षा त्रासका कारण लामापाटाको बस्ती नै खाली भएको स्थानीय स्रोतले जनाएको छ ।
लामो समयदेखि बाजुराको हिमाली गाउँपालिकाअन्तर्गत पर्ने रानीसैन, च्याँचौर र लामापाटा क्षेत्रमा जडीबुटी तथा जंगली जनावरको अवैध चोरी निकासी नियन्त्रण गर्न स्थानीयवासीले अस्थायी प्रहरी चौकी स्थापना गर्न माग गर्दै आएका थिए । तर स्थानीयका अनुसार उक्त चौकी स्थापना गर्ने प्रयासमा हुम्लातर्फका बासिन्दाले अवरोध गर्दै आएका थिए ।
बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले सीमा क्षेत्रको सुरक्षा अवस्था मजबुत बनाउन संयुक्त अस्थायी सुरक्षा बेस क्याम्प स्थापना गरिएको जानकारी दिए । उनका अनुसार सुरक्षा निकायको उपस्थितिले स्थानीयवासीलाई पुनः गाउँ फर्किन सहज वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
“अस्थायी रूपमा भए पनि सुरक्षा बेस स्थापना भएपछि लामापाटाका बासिन्दालाई गाउँ फर्कन सहज हुनेछ,” प्रमुख जिल्ला अधिकारी निरौलाले भने ।
उता विवादित क्षेत्रको वास्तविक अवस्थाबारे अध्ययन गर्न सरकारले छुट्टाछुट्टै दुई समिति गठन गरेको छ । जेठ ११ गते नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयोजकत्वमा सीमा क्षेत्र अध्ययन टोली गठन गरिएको थियो भने गृह मन्त्रालयले नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विमलराज कँडेलको संयोजकत्वमा घटनाको छानबिन समिति बनाएको छ ।
दुवै समितिले हाल विवादित क्षेत्रको अध्ययन तथा तथ्य संकलनको काम सुरु गरिसकेको जनाइएको छ । समितिको प्रतिवेदनपछि रानीसैन, च्याँचौर र लामापाटा क्षेत्रको सीमा सम्बन्धी विवादबारे थप स्पष्टता आउने अपेक्षा गरिएको छ ।












