डडेल्धुरा- सुदूरपश्चिम प्रदेशको राजधानी अत्तरियाबाट सात पहाडी जिल्ला जोड्ने प्रमुख सडक सञ्जाल जीर्ण बन्दै गएको छ। भीमदत्त राजमार्गसँगै दशरथचन्द राजमार्ग, जयपृथ्वी राजमार्ग र महाकाली राजमार्गका विभिन्न खण्डमा कालोपत्रे उप्किएर सडक खाल्डाखुल्डीमा परिणत भएपछि यात्रु र चालकले सास्ती खेप्नुपरेको छ।
अत्तरियाबाट पहाडतर्फ जाने अधिकांश सडकखण्डमा कालोपत्रे उप्किएर धुलाम्मे बनेका छन्। सडकभरि देखिने खाल्डाखुल्डी, अव्यवस्थित टालटुल र अत्यधिक धुलोका कारण यात्रा जोखिमपूर्ण मात्र नभई अत्यन्त कष्टकर बनेको स्थानीयको गुनासो छ।
बैतडी–डडेलधुरा सडकखण्डको अधिकांश कालोपत्रे उप्किसकेको छ। कतिपय स्थानमा सवारीका टायर गुड्ने भागको कालोपत्रे पूर्ण रूपमा नष्ट भइसकेको छ भने बीचभागमा मात्रै कालोपत्रेका अवशेष देखिन्छन्। सडकका ती अवशेषले कुनै समय यहाँ कालोपत्रे सडक रहेको संकेत मात्र गर्छन्।
विशेष गरी कैलालीको सहजपुर क्षेत्रको सडकखण्ड अत्यन्त जोखिमपूर्ण बनेको छ। गहिरा खाल्डाखुल्डीका कारण जीप, कार तथा अन्य साना सवारीका पार्टपुर्जा बिग्रिने, गाडी बीच बाटोमै अलपत्र पर्ने समस्या बढेको छ। चालकहरू कहिले खाल्डामा परिने हो भन्ने त्रासमै सवारी चलाउन बाध्य छन्।
सवारी चालक हरिश चन्दका अनुसार बैतडीको गोठालापानीदेखि डडेलधुराको बागबजारसम्मको करिब ८२ किलोमिटर सडकखण्डमा कालोपत्रे उप्किएर सडकभरि भग्नावशेष र खाल्डाखुल्डी मात्र बाँकी छन्। यसले यात्रु र चालक दुवैलाई ठूलो सास्ती दिएको उनले बताए।
उनका अनुसार अत्तरियादेखि पहाडी क्षेत्रतर्फ जाने सडकमा आकाशै ढाक्ने गरी उड्ने धुलोका कारण अगाडिको सवारी साधन देख्न कठिन हुने भएकाले दुर्घटनाको जोखिमसमेत बढेको छ।
प्रादेशिक ट्राफिक प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा यी सडकखण्डमा १२० भन्दा बढी साना–ठूला सवारी दुर्घटना भएका छन्।
यात्रु नवीन भट्टले पहाडी राजमार्गमा यात्रा गर्दा धुलोका कारण मोटरसाइकल चालक र सार्वजनिक यातायातका यात्रुहरू चिन्नै नसकिने अवस्थामा पुग्ने गरेको बताए। उनका अनुसार चौबीसै घण्टा उड्ने धुलो र सडकको जीर्ण अवस्थाले दैनिकजसो दुर्घटनाको जोखिम बढाएको छ। धुलोका कारण सडकछेउका बासिन्दाले श्वासप्रश्वाससम्बन्धी समस्या समेत भोग्नुपरेको उनले बताए।
स्थानीय जनप्रतिनिधिहरूले पनि सडक मर्मतको प्रभावकारितामाथि प्रश्न उठाएका छन्। पाटन नगरपालिका–८ का वडा अध्यक्ष हरिश विष्टले प्रत्येक वर्ष खाल्डाखुल्डी पुर्ने र टालटुल गर्ने काम भए पनि केही दिनमै पुनः उप्किने गरेको बताए।
उनका अनुसार बैतडी–डडेलधुरा सडकखण्डको अनारखोली र भालुमारे क्षेत्रमा हरेक वर्ष मर्मत गरिए पनि सडक केही समयमै पुरानै अवस्थामा फर्किने गरेको छ।
डडेल्धुराको स्याउलेदेखि डोटीको दिपायलसम्मको ५९ किलोमिटर, दिपायलदेखि अछामको साँफेबगरसम्मको ८५ किलोमिटर तथा साँफेबगरदेखि बाजुरा सदरमुकाम मार्तडीसम्मको ५८ किलोमिटर सडकखण्डको अवस्था पनि उस्तै रहेको छ। यी सडकमा हरेक वर्ष करोडौं रुपैयाँ खर्चिएर मर्मत गरिए पनि दीर्घकालीन सुधार हुन नसकेको स्थानीयको भनाइ छ।
मर्मतमा करोडौं खर्च, सुधार देखिँदैन
सडकहरूको दीर्घकालीन स्तरोन्नतिका लागि पर्याप्त बजेट नहुँदा पटक–पटक मर्मत तथा टालटुलमै करोडौं रुपैयाँ खर्च हुने गरेको छ। तर खर्चअनुसारको परिणाम भने नदेखिएको स्थानीयको गुनासो छ। उनीहरूका अनुसार ठेकेदारको ढिलासुस्ती र गुणस्तरहीन कामका कारण सडक चाँडै बिग्रिने गरेको छ।
अत्तरियाबाट पहाडी जिल्लाहरू जोड्ने भीमदत्त राजमार्ग, दशरथचन्द राजमार्ग, जयपृथ्वी राजमार्ग र साँफे–मार्तडी सडकखण्ड रणनीतिक सडक सञ्जालअन्तर्गत पर्छन्। यद्यपि ती सडकको मर्मत, मोड सुधार तथा खाल्डाखुल्डी पुर्न वार्षिक कति रकम खर्च हुन्छ भन्ने विवरण सार्वजनिक रूपमा स्पष्ट नदेखिएको स्थानीयको गुनासो छ।
यी सडकखण्डको मर्मतसम्भार सडक डिभिजन कार्यालय महेन्द्रनगर, कुलपाते र पाटन बैतडीले गर्दै आएका छन्। नियमित तथा आकस्मिक मर्मत, नाली सफाइ, पहिरो पन्छाउने र खाल्डाखुल्डी पुर्ने कार्यमा ती कार्यालयहरूले वार्षिक दुई करोडदेखि पाँच करोड रुपैयाँसम्म खर्च गर्दै आएका छन्।
सहजपुर–फल्टुडे सडकखण्डमा पहिरो पन्छाउने र मर्मत कार्यमा मात्रै एकपटक दुई करोड २६ लाख रुपैयाँ खर्च भएको देखिए पनि त्यसबारे सूचना पाटी नराखिएको स्थानीयले बताएका छन्।
बैतडी, बझाङ र दार्चुला जोड्ने सडकको जिम्मेवारी रहेको सडक डिभिजन कार्यालय पाटन बैतडीले चालु आर्थिक वर्षमा मात्रै मर्मतसम्भार र सडक सफाइका लागि १६ करोड रुपैयाँ खर्च गर्ने जनाएको छ।
सडक डिभिजन कार्यालय पाटन बैतडीका इञ्जिनियर कपिल पन्तले सडकका खाल्डाखुल्डी पुर्ने र पुनः कालोपत्रे गर्ने काम विभिन्न चरणमा भइरहेको बताए। उनका अनुसार यसका लागि विभिन्न ठेक्का आह्वान भइसकेका छन्। तर मर्मत गरिएका स्थानको ग्यारेन्टी अवधि तीन महिना मात्र रहने भएकाले दीर्घकालीन समाधानको आवश्यकता रहेको सरोकारवालाहरू बताउँछन्।












