डडेल्धुरा – डडेल्धुरामा सम्पन्न १६औँ सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि कैलालीले जितेको छ। ३२ स्वर्णसहित सर्वाधिक ५८ पदक हात पार्दै कैलाली प्रतियोगिताको च्याम्पियन बनेको हो।
अमरगढी नगरपालिका–४ स्थित टुँडिखेलमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा बिहीबारदेखि सुरु भएको प्रतियोगिता शनिबार भव्य समारोहबीच सम्पन्न भएको हो।
अन्तिम पदक तालिका अनुसार कैलालीले ३२ स्वर्ण, १७ रजत र ९ कास्य गरी कुल ५८ पदक जित्दै पहिलो स्थान हासिल गर्यो। कञ्चनपुरले १७ स्वर्ण, १३ रजत र १३ कास्यसहित ४३ पदक जितेर दोस्रो स्थानमा चित्त बुझायो भने आयोजक जिल्ला डडेल्धुराले ६ स्वर्ण, ७ रजत र १७ कास्यसहित कुल ३० पदक प्राप्त गर्दै तेस्रो स्थान सुरक्षित गर्यो।
त्यसैगरी बैतडीले ६ स्वर्ण, ७ रजत र १३ कास्यसहित २६ पदक जित्दै चौथो स्थान हासिल गर्यो। दार्चुला पाँचौँ, बझाङ छैटौँ, बाजुरा सातौँ, डोटी आठौँ र अछाम नवौँ स्थानमा रहे। दार्चुलाले ३ तथा बझाङले २ स्वर्ण पदक जित्दा बाजुरा, डोटी र अछाम भने स्वर्ण पदकविहीन बने।
प्रतियोगिताभर विभिन्न खेल विधामा कुल ६६ स्वर्ण, ६६ रजत र १०० कास्य गरी २३२ पदक वितरण गरिएको आयोजकले जनाएको छ।
समापन समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले डडेल्धुरामा पहिलोपटक प्रदेशस्तरीय खेलकुद प्रतियोगिता सफलतापूर्वक आयोजना हुनु गर्वको विषय भएको बताइन्। सुदूरपश्चिमका खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा प्रदेशको पहिचान स्थापित गरिरहेको उल्लेख गर्दै उनले खेलाडीहरूको मेहनत, अनुशासन र लगनशीलताको प्रशंसा गरिन्।
राज्यमन्त्री खड्काले खेलाडीलाई आवश्यक सेवा–सुविधा उपलब्ध गराउने विषयमा राज्य अझै पूर्ण रूपमा सफल हुन नसकेको स्वीकार गर्दै खेलकुद क्षेत्रको दिगो विकासका लागि संघ, प्रदेश र स्थानीय सरकारले पर्याप्त बजेट विनियोजन गर्नुपर्नेमा जोड दिइन्। खेलाडीको सम्मान र प्रोत्साहनका लागि सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव लोकबहादुर खड्का (रवि) ले डडेल्धुरामा प्रतियोगिता आयोजना गर्दा प्राप्त भएको जनसहभागिताले आफूहरूलाई थप उत्साहित बनाएको बताए। कैलाली र कञ्चनपुरजस्ता जिल्लामा आयोजना हुने ठूला प्रतियोगितामा समेत अपेक्षित दर्शक नआउने गरेको उल्लेख गर्दै उनले डडेल्धुरामा भने उल्लेखनीय दर्शक सहभागिता देखिएको बताए।
‘यही उत्साह र समर्थनले हामीलाई आगामी दिनमा पनि पहाडी जिल्लाहरूमा यस्ता प्रतियोगिता सञ्चालन गर्न प्रेरित गरेको छ,’ उनले भने।
सदस्य सचिव खड्काले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सुरक्षा निकाय, स्थानीय तह, खेलकर्मी, स्वयंसेवक, सञ्चारकर्मी तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरे।
प्रदेशका नौवटै जिल्लाका खेलाडी सहभागी रहेको प्रतियोगिताले सुदूरपश्चिमका उदीयमान खेल प्रतिभाको पहिचान, विकास र प्रोत्साहनमा महत्वपूर्ण योगदान पुर्याएको आयोजकको भनाइ छ।













