बझाङ- बझाङको जयपृथ्वी नगरपालिका–१० स्थित जिपपार्क क्षेत्रमा प्रहरीले नक्कली खुकुरी ब्रान्डको चुरोटसहित एक मिनी ट्रक नियन्त्रणमा लिएको छ। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ निवासी ३२ वर्षीय पंकज चौधरीले चलाएको सु.प.प्र.००१ क २५५२ नम्बरको मिनी ट्रकबाट ठूलो मात्रामा नक्कली चुरोट बरामद गरिएको हो।
गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको टोलीले सवारीसाधन जाँच गर्ने क्रममा ९ पेटी १० डण्डा नक्कली चुरोट फेला पारेको प्रहरीले जनाएको छ।
उक्त घटनामा संलग्न रहेको आशंकामा चालक चौधरीसँगै ट्रकका धनी बैतडीको पाटन नगरपालिका–२ निवासी २१ वर्षीय हेमराज पाण्डेयलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले मिनी ट्रक, बरामद चुरोट र दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।












