बैतडी- बैतडीमा सरकारी तथा सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाउन जिल्ला प्रशासन कार्यालयले स्थानीय तहहरूलाई पत्राचार गरेको छ। जिल्लाभित्रका सबै स्थानीय तहलाई अतिक्रमण भएका सरकारी जमिनको पहिचान गरी हटाउने कार्ययोजना पेश गर्न निर्देशन दिइएको हो।
गृह मन्त्रालयले देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण पहिचान गरी हटाउन निर्देशन दिएपछि बैतडी प्रशासनले स्थानीय तहहरूलाई सक्रिय भूमिका लिन पत्राचार गरेको हो।
प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईका अनुसार स्थानीय तहको समन्वयमा अतिक्रमित जग्गा पहिचान गरी हटाउने कार्य अघि बढाइनेछ। उनले स्थानीय तहबाट कार्ययोजना प्राप्त भएपछि सोही आधारमा अतिक्रमण हटाउने प्रक्रिया अघि बढाइने बताए।
प्राप्त तथ्यांकअनुसार बैतडीमा मात्र करिब ११०.४ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ। वन क्षेत्रबाहेक अन्य सरकारी तथा सार्वजनिक जग्गा पनि अतिक्रमणको चपेटामा परेको हुन सक्ने प्रशासनले जनाएको छ।












