२०८३ कार्तिक १३
खाेज्नुहाेस

बालेन नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन, पाँच महिला मन्त्री समावेश

Image

काठमाडौं-  प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ। मन्त्रिपरिषद्मा पाँच जना महिला मन्त्री समावेश भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहबीच नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।

शपथ ग्रहण समारोहमा आजै प्रधानमन्त्री बालेन शाहले पनि पद तथा गोपनीयताको शपथ लिएका थिए। कार्यक्रममा बटुकद्वारा स्वस्तिवाचन तथा लामाद्वारा मंगलवाचन गरिएको थियो।

नयाँ मन्त्रिपरिषद्मा प्रधानमन्त्री बालेन शाहले रक्षा र उद्योग मन्त्रालय आफैंसँग राखेका छन्। दोस्रो वरीयतामा रहेका स्वर्णिम वाग्ले अर्थमन्त्री नियुक्त भएका छन् भने तेस्रो वरीयताका सुधन गुरुङले गृह मन्त्रालयको जिम्मेवारी पाएका छन्।

त्यसैगरी, शिशिर खनाल परराष्ट्र मन्त्री, सुनिल लम्साल भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री, विराजभक्त श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री नियुक्त भएका छन्। खड्कराज पौडेल (गनेश) पर्यटन मन्त्री बनेका छन् भने सस्मित पोखरेललाई शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी निशा मेहताले पाएकी छन् भने सञ्चार मन्त्रीमा विक्रम तिमिल्सिना नियुक्त भएका छन्। श्रम मन्त्रालय दीपक साह (महोत्तरी)ले सम्हालेका छन्।

महिला सहभागितातर्फ कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा सोविता गौतम, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा प्रतिभा रावल, महिला, बालबालिका मन्त्रीमा सीता वादी र कृषि मन्त्रीमा गीता चौधरी नियुक्त भएका छन्।