बाजुरा- गयरातिदेखि सुरु भएको वर्षापछि बाजुराका उच्च हिमाली तथा लेकाली क्षेत्रमा हिमपात भएको छ। यसअघि माघ महिनामा पनि हिमपात भएको जिल्लामा फेरि हिउँ परेपछि मौसम थप चिसिएको छ।
जिल्लाका विभिन्न हिमाली तथा लेकाली क्षेत्रमा हिमपात भएको हो। विशेषगरी बडीमालिका नगरपालिका, बूढीगंगा नगरपालिका, त्रिवेणी नगरपालिका र बूढीनन्दा नगरपालिका का उच्च भेगहरूमा हिमपात भएको छ।
त्यसैगरी हिमाली गाउँपालिका, खप्तड छेडेदह गाउँपालिका, गौमुल गाउँपालिका, स्वामीकार्तिक खापर गाउँपालिका र जगन्नाथ गाउँपालिका का लेकाली क्षेत्र र बस्तीहरूमा पनि हिमपात भएको स्थानीयले बताएका छन्।
विशेषगरी हिमाली गाउँपालिकाको विच्छ्या, रुगिन र बाँधु, गौमुल गाउँपालिकाको अम्लिस र दहकोट, बूढीनन्दा नगरपालिकाको कुरु र पाण्डुसैन तथा खप्तड छेडेदह गाउँपालिकाका विभिन्न बस्तीहरूमा हिमपात बढी भएको छ।
हिमपातका कारण केही स्थानमा जनजीवन प्रभावित भए पनि हिउँदे बालीका लागि लाभदायक हुने विश्वासले स्थानीय किसान भने खुसी देखिएका छन्। लगातार परेको हिउँले जमिनमा चिस्यान बढ्ने भएकाले गहुँ, जौ र अन्य हिउँदे बालीलाई फाइदा पुग्ने किसानको अपेक्षा छ।












