२०८३ कार्तिक १३
खाेज्नुहाेस

समानुपातिकतर्फको मतगणना सम्पन्न, सिट बाँडफाँट प्रक्रिया सुरु

Image

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार गोरखा–१ र इलाम–१ को मतगणना सकिएसँगै समानुपातिकतर्फको सबै मतगणना पूरा भएको हो।

निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार मतगणना सकिए पनि सम्बन्धित निर्वाचन अधिकृतका कार्यालयबाट आयोगमा अन्तिम विवरण आउने क्रम भने जारी छ। ती विवरण प्राप्त भएसँगै समानुपातिक प्रणालीअन्तर्गत राजनीतिक दलहरूले पाउने सिट संख्या निर्धारण गर्ने प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ। आयोगका अनुसार केही दिनभित्रै यो प्रक्रिया टुंगोमा पुग्नेछ।

आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार बुधबार बिहान ११ बजेसम्म समानुपातिकतर्फ कुल एक करोड सात लाख ३९ हजार एक सय १५ मत गणना भएको छ। उक्त मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी ५१ लाख ३९ हजार दुई सय ३५ मतसहित अग्रस्थानमा रहेको छ।

त्यसपछि नेपाली कांग्रेसले १७ लाख ४९ हजार पाँच सय ८३ मत प्राप्त गरेको छ भने नेकपा एमालेले १४ लाख ४८ हजार आठ सय ५४ मत पाएको छ। त्यस्तै नेपाली कम्युनिष्ट पार्टीले आठ लाख पाँच हजार सात सय ७३, श्रम संस्कृति पार्टीले तीन लाख ७८ हजार छ सय ४९ र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २९ हजार चार सय ७२ मत प्राप्त गरेका छन्।

निर्वाचन आयोगका अनुसार हालसम्मको मतपरिणामका आधारमा अन्य राजनीतिक दलहरू भने समानुपातिकतर्फ आवश्यक थ्रेसहोल्ड कटाउने अवस्थामा देखिएका छैनन्।