२०८३ कार्तिक ११
खाेज्नुहाेस

बाजुरामा हिँडेर बर्थिङ सेन्टर जाँदै गरेकी महिलाले बाटोमै जन्माइन् शिशु

Image

बाजुरा- बाजुराको दुर्गम गाउँमा एक गर्भवती महिलाले स्वास्थ्य संस्था पुग्न नपाउँदै बाटोमै सन्तान जन्माएकी छन्।

स्वामिकार्तिक खापर गाउँपालिका–२ भैसागाडकी करिब २२ वर्षीया दुइला भण्डारी सुत्केरी व्यथाले च्यापेपछि परिवारले उनलाई हिँडाएरै फयालगाउँस्थित आधारभूत स्वास्थ्य एकाइतर्फ लैजाँदै थियो। तर स्वास्थ्य संस्था नपुग्दै बाटोमै उनले बच्चा जन्माएकी हुन्।

घरबाट करिब एकदेखि डेढ घण्टाको पैदल दूरीमा रहेको स्वास्थ्य संस्थातर्फ जाँदै गर्दा बाटोमै उनलाई असह्य प्रसूति पीडा बढेपछि अगाडि बढ्न नसक्ने अवस्था आएको थियो।

घटनाबारे खबर पाएलगत्तै आधारभूत स्वास्थ्य एकाइमा कार्यरत अनमी विस्ना रोकाया घटनास्थलमै पुगेकी थिइन्। उनले बाटोमै सुरक्षित प्रसूति गराइदिएकी थिइन्।

समयमै स्वास्थ्यकर्मीको सहयोग पाएकाले आमा र नवजात शिशु दुवै सुरक्षित रहेका छन्। अहिले उनीहरू घर फर्किसकेको स्थानीयले बताएका छन्।

वडा नम्बर २ का अध्यक्ष विष्णुबहादुर बुढाका अनुसार दुर्गम भूगोल र स्वास्थ्य संस्था टाढा भएका कारण समयमै अस्पताल पुर्‍याउन नसक्दा यस्तो अवस्था आउने गरेको छ।

उनले गाउँमा कच्ची सडक भए पनि सधैँ सवारी साधन नचल्ने र एम्बुलेन्सको सुविधा नहुँदा गर्भवती महिलालाई जोखिम मोलेरै हिँडाएर स्वास्थ्य संस्था पुर्‍याउनुपर्ने बाध्यता रहेको बताए।