२०८३ भाद्र २७
खाेज्नुहाेस

तीन पटक चुनाव जितेका भण्डारी चौथो पटक भने तेस्रो बने

Image

बैतडी- बैतडीबाट लगातार तीन पटक चुनाव जितेका एमाले उम्मेदवार दामोदर भण्डारी यस पटक भने तेस्रो स्थानमा सीमित भएका छन्। चौथो पटक चुनाव लड्दा भण्डारी तेस्रो बने। रास्वपाका उम्मेदवार हरि मोहन भण्डारीले २२ हजार १३४ मत ल्याउँदा दामोदर भण्डारीले भने १७ हजार ११ मतका साथ तेस्रो स्थानमा सीमित भए।

उनी नेपाली कांग्रेसका उम्मेदवार चतुर बहादुर चन्दभन्दा पनि पछि परे। चन्दले भने १८ हजार १९४ मत प्राप्त गरे।

जिल्लामा एमालेका खम्बा बनेका भण्डारी एकल सिफारिस भएका उम्मेदवार थिए। यहाँ उनको राजनीतिक ग्राफ पनि निरन्तर उकालो लागेको देखिन्थ्यो, तर यस पटक भने त्यसमा ब्रेक लाग्यो।

भण्डारी यस पटक संसद् सम्म पुग्न नसके पनि यसअघि केन्द्र सरकारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका थिए।

भण्डारी एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीका विश्वासिला पात्र मानिन्छन्। २०७२ सालमा ओली नेतृत्वको सरकारमा अर्थ राज्यमन्त्रीको जिम्मेवारी पाएका उनी २०७९ सालमा छोटो समयका लागि उद्योगमन्त्री बनेका थिए। लगत्तै राजनीतिक समीकरण बदलिएपछि सत्ताबाट बाहिरिएका भण्डारी पुनः २०८० साल फागुन २३ गते तेस्रो पटक मन्त्री बने। उनी ०८१ असार ३१ मा चौथो पटक मन्त्री बनेका थिए।

उनले बैतडीबाट लगातार तीन पटक जित हात पारिसकेका छन्। २०७० को दोस्रो संविधान सभा, २०७४ को प्रतिनिधि सभा र २०७९ को प्रतिनिधि सभा निर्वाचनमा विजयी हुँदै उनले संसद् यात्रा तय गरेका थिए। उनी एमालेका केन्द्रीय कमिटी सदस्यसमेत हुन्।