२०८३ कार्तिक १२
खाेज्नुहाेस

बाजुराको बिच्छयाँका मतदाताको एकै स्वर: ‘सडक र फोन टावर देऊ, भोट लिऊ’

Image

बाजुरा – बाजुरा जिल्लाको अत्यन्तै विकट क्षेत्र बिच्छयाँका बासिन्दाले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअघि उम्मेदवारसँग सडक र फोन टावर निर्माणको माग अघि सारेका छन्। चुनावी प्रचारका लागि गाउँ पुग्ने उम्मेदवार तथा राजनीतिक दलका प्रतिनिधिसँग स्थानीय एकमत भएर प्रत्येक वडामा सडक र सञ्चार टावर निर्माण गर्न दबाब दिइरहेका छन्।

हिमाली गाउँपालिका–१, २ र ३ (साविक बिच्छयाँ गाविस) हालसम्म सडक सञ्जालमा जोडिन सकेका छैनन्। बिच्छयाँको नेटामा फोन टावर रहे पनि टाढाका बस्तीहरू अझै टेलिफोन सेवाबाट वञ्चित छन्। विगतदेखि नै सडक र सञ्चार टावरको माग उठ्दै आए पनि राजनीतिक दलहरूले बेवास्ता गरेको स्थानीयको गुनासो छ।

हिमाली गाउँपालिका–३ बौडीका ध्यानबहादुर रोकायाका अनुसार यसपटक पनि बिच्छयाँका बासिन्दाको मुख्य माग सडक र फोन टावर नै हो। बिच्छयाँले बाजुराको कुल भूगोलको करिब ३५ प्रतिशत क्षेत्र ओगटेको छ भने एउटा गाउँबाट अर्को गाउँ पुग्न एक दिनभन्दा बढी समय लाग्ने अवस्था छ। हुम्ला सीमासम्म अस्थायी सडक सञ्चालनमा आए पनि बिच्छयाँका कुनै पनि वडामा सडक पुगेको छैन।

स्थानीय साजन बुडथापाले भने, “हाम्रो मुख्य समस्या सडक हो। सडक नहुँदा दैनिक जीवन अत्यन्तै कष्टकर बनेको छ।”

हिमाली गाउँपालिका–३ को गुम्बा गाउँ अझै टेलिफोन सेवाबाट पूर्ण रूपमा वञ्चित छ। त्यस क्षेत्रमा स्थानीयले ‘नो भोट, नो टावर’ अभियान नै सञ्चालन गरेका छन्। जगत लामाका अनुसार टावर नबनेसम्म मतदान नगर्ने सहमति स्थानीयबीच बनेको छ। “सबै उम्मेदवारसँग टावरको माग राखेका छौं। सडक तत्काल सम्भव नदेखिए पनि कम्तीमा फोन टावर बनाइदिन आग्रह गरेका छौं,” उनले भने।

हिमाली गाउँपालिका–१ मा ६७१, वडा–२ मा ६५७ र वडा–३ मा ५५१ मतदाता छन्। वडा–१ र ३ मा दुई–दुई मतदान केन्द्र तथा वडा–२ मा एक मतदान केन्द्र तोकिएको छ। गुम्बा गाउँबाहेक अन्य क्षेत्रमा विद्युत सेवा पुगेको छ। एक वर्षअघि कादुरी एग्रिकल्चरल एण्ड एसोसिएसन ब्रिटिस गोर्खाज् नेपाल ले करिब १४ करोड रुपैयाँ लगानीमा बिच्छयाँमा विद्युत विस्तार गरेको थियो।

साविक बिच्छयाँ गाविस अझै सडक, शिक्षा, स्वास्थ्य र सञ्चार पूर्वाधारबाट वञ्चित रहेको बताउँदै हिमाली गाउँपालिका–३ का वडा अध्यक्ष मंगलबहादुर बुढाले यातायात सुविधा नहुँदा बिरामीले समयमै उपचार नपाउने र बाटोमै ज्यान जाने समस्या दोहोरिँदै आएको बताए।