बैतडी- प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताबीच बैतडीमा झडप भएको छ । जिल्लाको डिलासैनी गाउँपालिका–७ मल्लालेक टोलमा बुधबार साँझ करिब ७ः५० बजेतिर चुनावी घरदैलो कार्यक्रमका क्रममा विवाद चर्किँदा दुई पक्षबीच हातपात भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता तथा प्रहरी निरीक्षक सुरज सिंह का अनुसार झडपमा डिलासैनी–७ का लालसिंह धामी, २८ वर्षीय जनक धामी र २६ वर्षीय माधव धामी घाइते भएका छन् । लालसिंह धामी रास्वपाका कार्यकर्ता हुन् भने जनक र माधव दुवै एमाले कार्यकर्ता रहेको प्रहरीले जनाएको छ ।
घाइते भएका एमाले कार्यकर्ता माधव धामी र जनक धामीको प्रारम्भिक उपचार गोकुलेश्वर अस्पताल मा गरिएको थियो । थप उपचारका लागि उनीहरूलाई धनगढी लगिएको र हाल निसर्ग अस्पताल मा उपचार भइरहेको प्रहरीले जनाएको छ । यता रास्वपाका घाइते कार्यकर्ता लालसिंह धामीको भने जिल्ला अस्पताल बैतडी मा उपचार भइरहेको छ ।
पाँच जना पक्राउ, अनुसन्धान जारी
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । प्रवक्ता सिंहका अनुसार पक्राउ परेकाहरू कुन पार्टीका समर्थक हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।
तर रास्वपा बैतडीका जिल्ला सभापति भीम नाथ ले भने प्रहरीले आफ्नो पार्टीका समर्थक पाँच जनालाई मात्रै नियन्त्रणमा लिएको आरोप लगाएका छन् । एमालेले निहुँ खोजेर घटना घटाएको तर दोष रास्वपालाई मात्रै थोपर्ने प्रयास भइरहेको उनको गुनासो छ ।
“चुनावमा रास्वपाको अवस्था राम्रो देखिएपछि एमाले पक्षले केही दिनदेखि झडपको निहुँ खोजिरहेको थियो,” सभापति नाथले भने, “बुधबार साँझ १२–१५ जनाको समूहमा आएका एमाले कार्यकर्ताले सुरुमा जिस्क्याए । विवाद छुट्याउन जाँदा रास्वपाका वडा सभापति लालसिंह धामीलाई सडकबाट तल हुत्याइयो ।”
झडपपछि राष्ट्रिय युवा संघ बैतडीले चेतावनी–पत्र जारी गर्दै रास्वपाका कार्यकर्ताले एमाले कार्यकर्तामाथि साङ्घातिक आक्रमण गरेको दाबी गरेको छ । युवा संघ बैतडीका अध्यक्ष यज्ञ भट्ट का अनुसार प्रचारप्रसार सकेर जिपमा फर्किँदै गरेका एमाले कार्यकर्तामाथि रास्वपाका कार्यकर्ताले कुटपिट गरेका हुन् ।
“जिपमा दुई–चार जना मात्र साथीहरू बाँकी रहेका बेला रास्वपाका कार्यकर्ता आएर कुटपिट गरे,” भट्टले भने, “हाम्रा साथीहरूलाई अराजक ढंगले आक्रमण गरिएको हो ।”
यसैबीच एमाले डिलासैनी पालिका कमिटीका अध्यक्ष गोकर्ण राना ले पनि रास्वपा समर्थकहरूले नै सुरुमा आक्रमण गरेको दाबी गरेका छन् । उनका अनुसार पूर्व एमाले कार्यकर्ता लालसिंह धामी र लोकेन्द्र धामीले निहुँ खोजेर झगडा सुरु गरेका हुन् ।
बैतडीमा एमालेबाट दामोदर भण्डारी र रास्वपाबाट हरिमोहन भण्डारी उम्मेदवार छन् । दुवै उम्मेदवार गाउँले दाजुभाइ हुन् । उनीहरू चुनावी प्रतिस्पर्धामा उत्रिएकै बेला डिलासैनीमा कार्यकर्ताबीच झडप भएको हो ।
स्थानीयका अनुसार डिलासैनी क्षेत्रमा एमाले परम्परागत रूपमा बलियो देखिन्छ । २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा पनि एमालेसम्बद्ध नेतृत्व प्रभावशाली रहँदै आएको छ । पछिल्लो समय एमाले छाडेर रास्वपामा गएका कार्यकर्ताप्रति एमाले पक्ष रुष्ट भएकै कारण झडपको वातावरण बनेको एक स्थानीयले बताए ।
रास्वपाले भने जिपमा सवार एमाले कार्यकर्ताले मोटरसाइकलमा सवार आफ्ना वडा सभापति लालसिंह धामी र सदस्य लोकेन्द्र धामीमाथि आक्रमण गरेको दाबी गरेको छ । प्रहरीले भने हालसम्म पाँच जना रास्वपा समर्थकलाई मात्रै नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।












