बैतडी- बैतडीको पुर्चौडीबाट बझाङतर्फ जाँदै गरेको जन्ती बोकेको बस दुर्घटनामा एक जना वडा सचिवको समेत निधन भएको छ।
पुर्चौडी नगरपालिका–७ बडचौरमा भएको उक्त दुर्घटनामा दार्चुलाको शैल्यशिखर नगरपालिका–१ का वडा सचिव बसन्तराज जोशीको ज्यान गएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार जोशी बझाङको बित्थडचिर गाउँपालिका–७ का स्थायी बासिन्दा हुन्।
बसन्तराज जोशी दार्चुलाको शैल्यशिखर नगरपालिका कार्यालय अन्तर्गत पशु सेवा शाखामा नायब प्राविधिक सहायक (ना.प्रा.स.) पदमा कार्यरत थिए। उनले शैल्यशिखर नगरपालिका–१ बलाँचको वडा सचिवको जिम्मेवारी समेत सम्हालिरहेका थिए।

पेसागत जिम्मेवारीसँगै जोशी नेपाल निजामती कर्मचारी संगठन, शैल्यशिखर नगर कार्यसमितिका सचिव समेत रहेका थिए।
विवाहको खुसी साट्न हिँडेको जन्ती बस दुर्घटनामा परी वडा सचिव जोशीसहित १३ जनाको अकालमा ज्यान गएपछि क्षेत्र नै शोकमा डुबेको छ। दुर्घटनामा घाइते भएकाहरूको उद्धार तथा मृतकहरूको सनाखत गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ।













