२०८३ भाद्र २८
खाेज्नुहाेस

पुर्चौडी बस दुर्घटनाका घाइते अमरराज भन्छन्- ढोकाबाट हाम फालेर बाँचें

Image

बैतडी- बैतडीको पुर्चौडी नगरपालिका–७ बडगाउँमा बिहीबार भएको दर्दनाक बस दुर्घटनामा घाइते भएका अमरराज जोशीले ढोकाबाट हाम फालेर ज्यान जोगाएको बताएका छन्।

जोशीका अनुसार उकालो मोडमा बस घुम्न नसकेपछि चालकले ‘ब्याक’ गर्दा ब्रेक नलागी बस भिरालोतर्फ खसेको थियो।

‘उकालोमा मोड थियो, चालकले मोड्न सक्नुभएन। बस ब्याक गइरहेको बेला जसोतसो ढोकाबाट हाम फालेँ। त्यहाँ उत्तिसको रुख रहेछ, त्यहीँ अड्किएर ज्यान जोगियो,’ जोशीले बताए।

दुर्घटनामा उनी सामान्य घाइते मात्र भएका छन्। दुर्घटना भएपछि जोशीले तत्काल स्थानीयवासी र प्रहरीलाई खबर गरेका थिए।

उनका अनुसार बसमा दुलही पक्षका आफन्तसहित ठूलो संख्यामा जन्ती सवार थिए। ‘बेहुलीको घरबाट फर्कँदै गर्दा बाटोमा पर्ने माइतीपट्टिका आफन्तहरू पनि बसमा चढ्नुभएको थियो,’ उनले बताए।

देवी–देवताप्रति गहिरो आस्था राख्ने जोशीले आफूले पुनर्जीवन पाएको अनुभूति व्यक्त गरे। ‘भगवानकै कृपाले बाँचेँ जस्तो लाग्छ। अब बाँकी जीवन समाजका लागि केही राम्रो काम गर्न चाहन्छु,’ उनले भने।

पुर्चौडी नगरपालिका–७ को भौनीबाट दुलही लिएर फर्किरहेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १११९ नम्बरको जन्ती बस बिहीबार साँझ बडगाउँ मोडमा दुर्घटनामा परेको थियो। उक्त दुर्घटनामा १३ जनाको ज्यान गएको प्रहरीले जनाएको छ।