बैतडी – बैतडीको पुर्चौंडी नगरपालिकामा जन्ती बोकेको बस दुर्घटना हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ।
बिहीबार पुर्चौंडी नगरपालिकाको भवनेबाट जन्ती लिएर बझाङतर्फ फर्किरहेको सुदूरपश्चिम प्रदेश ०२००१ ख १११९ नम्बरको बस राति करिब ८ बजेतिर पुर्चौंडी नगरपालिका–७ बडगाउँस्थित मोडमा दुर्घटनामा परेको हो।
बस सडकबाट झण्डै १५० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २ जनाको स्थानीय स्वास्थ्यचौकीमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिए।
घटनास्थलमा अहिले पनि उद्धार कार्य जारी रहेको छ। अँध्यारोका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको हाट स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मी डम्मर कुँवरले बताएका छन्।
बसमा कति जना सवार थिए भन्ने विषयमा यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको संख्या र अवस्था सम्बन्धी विस्तृत विवरण संकलन भइरहेको प्रहरी निरीक्षक बडूले बताए।












