२०८३ भाद्र २९
खाेज्नुहाेस

बैतडीमा जीप दुर्घटना हुँदा डडेल्धुराका १३ वर्षीय बालकसहित तीनजनाकाे मृत्यु

Image

बैतडी-  बैतडीमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य यात्रु घाइते भएका छन्।

बैतडीको सुर्नया गाउँपालिका–६ मोतीनगरबाट डडेल्धुरातर्फ जाँदै गरेको म १ ज २२४ नम्बरको बोलेरो जिप सोमबार बिहान करिब १० देखि साढे १० बजेको बीचमा जयपृथ्वीराजमार्ग अन्तर्गत पाटन नगरपालिका–८ को विजयपुर–साँडीघाटी नजिक झैलेक भिरमा दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार जिप आफैं अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेको थियो। दुर्घटनामा सिगास गाउँपालिका–१ का २४ वर्षीय निसान्त बोहरा, सिगास गाउँपालिका–२ का २८ वर्षीय भान देव भट्ट र डडेल्धुराको आलिताल गाउँपालिका–३ का १३ वर्षीय राकेश रावलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

जिपमा सवार अन्य यात्रुहरू घाइते भएका छन्। घाइतेहरूको संख्या यकिन हुन बाँकी रहेको र उनीहरूको उद्धार गरी उपचारका लागि नजिकका स्वास्थ्य संस्थामा पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

दुर्घटनाको कारणबारे खुल्न बाँकी रहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए। दुर्गम भिरालो सडक र मोडिलो बाटोका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ।