दार्चुला- कालापानी नजिकको व्यास गाउँपालिका–१ अन्तर्गत छाङरु र तिङ्कर गाउँका मतदाताले यसपटक पनि जिल्ला सदरमुकाम खलङ्गामै मतदान गर्ने भएका छन् । आगामी फागुन २१ गते हुने निर्वाचन का लागि दुवै गाउँको मतदान केन्द्र सदरमुकाम खलङ्गामै तोकिएको जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालय दार्चुलाका कार्यालय प्रमुख तथा निर्वाचन अधिकृत प्रदीपसिंह धामीका अनुसार छाङरु र तिङ्कर गाउँका अधिकांश मतदाता हाल सदरमुकाम खलङ्गामै बसोबास गरिरहेका छन् । विगतका निर्वाचनहरूमा पनि यही व्यवस्थाअनुसार खलङ्गामै मतदान हुँदै आएको हुँदा यसपटकको निर्वाचन पनि सदरमुकाममै गरिने भएको हो ।
अत्यधिक चिसो र भारी हिमपातका कारण गत मङ्सिरको पहिलो सातामै सौका समुदायका बासिन्दा छाङरु र तिङ्करबाट सदरमुकाम खलङ्गा झरेका थिए । सौका समुदायका मानिस वर्षको करिब छ महिना छाङरु–तिङ्कर क्षेत्रमा र बाँकी छ महिना सदरमुकाम खलङ्गामा बसोबास गर्ने परम्परा रहेको छ ।
“यस क्षेत्रका प्रायः सबै मतदाता खलङ्गा झरिसकेका छन् । छाङरु र तिङ्कर दुवै गाउँको मतदान सदरमुकाममै गर्ने गरी तयारी भइरहेको छ,” निर्वाचन अधिकृत धामीले भने । उनका अनुसार विगतमा पनि सर्वदलीय सहमति र सम्बन्धित वडाको सिफारिसका आधारमा दुवै गाउँको मतदान केन्द्र खलङ्गामै कायम गरिएको थियो ।
निर्वाचन कार्यालयका अनुसार छाङरु गाउँको मतदान केन्द्रमा ३७५ जना र तिङ्कर गाउँको मतदान केन्द्रमा २४४ जना मतदाता रहेका छन् ।
यसैबीच, प्रतिनिधि सभा निर्वाचनका लागि दार्चुला जिल्लामा कुल ९२ हजार ९४८ जना मतदाता कायम भएका छन् । यसमा हालै थपिएका २ हजार ६०८ जना नयाँ मतदाता पनि समावेश छन् ।
विसं २०७९ को निर्वाचनमा दार्चुलामा ९० हजार ७८२ जनाले मतदान गरेका थिए । हाल कायम मतदातामध्ये ४७ हजार ७५५ जना पुरुष र ४५ हजार १९३ जना महिला रहेका छन् ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्ला सुरक्षा समितिले सुरक्षा व्यवस्था कडा बनाएको छ । जिल्ला सुरक्षा समिति दार्चुलाका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले मतदान केन्द्रलाई तीन वर्गमा वर्गीकरण गरी सुरक्षा गस्ती र नियमित पेट्रोलिङको व्यवस्था मिलाइएको जानकारी दिए ।













