२०८३ भाद्र ३०
खाेज्नुहाेस

युद्धभूमिमै अस्ताए उज्ज्वल भविष्यको सपना बोकेर रुस पुगेका बैतडीका मनोज

Image

बैतडी-दुई वर्षअघि उज्ज्वल भविष्य र परिवारको अवस्था सुधार्ने सपना बोकेर विदेशिएका बैतडीको मेलौली नगरपालिका–७ काडाका ३२ वर्षीय मनोज सिंह भाटको रुसी सेनामा कार्यरत रहँदा मृत्यु भएको पुष्टि भएको छ । डीएनए परीक्षणबाट उनको निधन यकिन भएसँगै परिवार शोकमा डुबेको छ ।

२०८० असोजतिर घरबाट हिँडेका मनोज सुरुमा परिवारसँग नियमित सम्पर्कमा थिए । मेलौलीकै दुई जना साथीसँगै रुस पुगेका उनी रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्ध क्षेत्रमा खटिएको कुरा परिवारले धेरैपछि मात्रै थाहा पाएको थियो ।

केही महिनापछि मनोजसँग सम्पर्क पूर्ण रूपमा टुटेपछि परिवारले उनका साथीसँग सोधखोज गर्दा उनी युक्रेनी आक्रमणमा परेको खबर सुन्दै आएका थिए । तर, उनको अवस्था के हो भन्ने यकिन नहुँदा परिवार एकदेखि डेढ वर्षसम्म आश र चिन्ताबीच पर्खाइमा बस्न बाध्य भयो ।

लामो प्रतीक्षापछि डीएनए परीक्षणबाट मनोजको मृत्यु पुष्टि भएको खबरले परिवारलाई ठूलो पीडा दिएको छ । मेलौली नगरपालिका–७ का वडाध्यक्ष रामचन्द्र भट्टले भने, “परिवारमा झिनो आश बाँकी नै थियो । लामो समयसम्म अवस्था स्पष्ट थिएन, तर  मृत्यु पुष्टि भएको दुःखद खबर आयो ।”

निधन पुष्टि भएपछि शनिबार परिवारले कुशको शव बनाएर दाहसंस्कार गरेको छ । मनोजसँगै मेलौली क्षेत्रका अन्य दुई जना पनि रुसी सेनामा गएका थिए । तीमध्ये मेलौली नगरपालिका–९ असुरका अर्जुनदत्त भट्टको गत वैशाखमै मृत्यु पुष्टि भइसकेको थियो भने मेलौली नगरपालिका–८ का अर्का एक जना केही महिनामै सकुशल घर फर्किएका थिए ।

मनोज भाट परिवारका जेठा छोरा थिए । पारिवारिक अवस्था कमजोर रहेको र उनका बुवा–आमा खेतीकिसानीमा निर्भर रहेको बताइन्छ । रुस जानुअघि मनोज गाउँमै गाडी चलाउँदै आएका थिए । घरखर्च चलाउन मुस्किल भएपछि परिवारको सहारा बन्ने आशामा उनी रुसी सेनामा भर्ती हुन बाध्य भएका थिए ।

तर, पराइको युद्धभूमिमा उनको ज्यान गएपछि परिवार शोक र पीडाले विक्षिप्त बनेको छ । उज्यालो भविष्यको सपना बोकेर घरबाट निस्किएका मनोज अन्ततः बाकसमा समेत नफर्किएपछि गाउँ नै शोकमा डुबेको छ ।