२०८३ कार्तिक १२
खाेज्नुहाेस

बाजुराकाे अनाई खोलामा पक्की पुल उद्घाटन

Image

बाजुरा-  बाजुराको मार्तडी–कोल्टी सडकखण्डको बडीमालिका नगरपालिका ७ र ८ को बीचमा पर्ने अनाई खोलामा पक्की पुलको उद्घाटन भएको छ।

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पालले एक कार्यक्रमको बीचमा पुलको उद्घाटन गरेका हुन्।

ठेक्का सम्झौता भएको दुई वर्ष भित्र पुलको निर्माण कार्य सम्पन्न भएकोले अब नियमित यातायातका साधनहरू सञ्चालन हुने भएका छन्। गत असार मसान्तसम्म पुलको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर बर्षातको समयमा सामान ढुवानीमा समस्या हुँदा काममा ढिलाइ भएको ठेकेदार कम्पनीले जनाएको छ।

पुलको निर्माण ठेक्का सम्झौता २०८० मंसिर २९ गते भएको थियो। ५ करोड ३४ लाख १० हजार ९१८ रुपैंयामा आईएस पावर अफ जेभी निर्माण कम्पनीले ठेक्का सम्झौता गरेकाले पुल निर्माण सम्पन्न गरेको हो। यो कार्य भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको बजेटबाट सम्पन्न गरिएको भौतिक पूर्वाधार कार्यालय अछामले जनाएको छ।

स्थानीयवासीहरूले पुल निर्माणपछि वर्षायाममा हुने आवतजावतको समस्या समाधान हुने, सेवा–सुविधामा पहुँच बढ्ने र स्थानीय उत्पादन बजारसम्म सजिलै पुग्ने अपेक्षा गरेका छन्।