२०८३ भाद्र २९
खाेज्नुहाेस

अध्यक्षकाे धर्ना बस्ने चेतावनीपछि पञ्चेश्वरले पायाे प्रमुख प्रशासकीय अधिकृत

Image

बैतडी-  बैतडीको पञ्चेश्वर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा शाखा अधिकृत बिरसिंह भण्डारीलाई खटाइएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पौष १४ गते निर्णय गर्दै शहरी विकास मन्त्रालयअन्तर्गत कार्यरत शाखा अधिकृत भण्डारीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ को उपदफा (४) बमोजिम भण्डारीलाई पञ्चेश्वर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कामकाज गर्न खटाइएको मन्त्रालयले जनाएको छ।

नयाँ प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था भएसँगै पालिकाका रोकिएका कामहरू अब अघि बढ्ने पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताएका छन्। प्रमुख प्रशासकीय अधिकृत नहुँदा लामो समयदेखि प्रशासनिक कामकाज प्रभावित हुँदै आएको उनको भनाइ छ।

यसअघि प्रमुख प्रशासकीय अधिकृत खटाउन माग गर्दै अध्यक्ष चन्द स्वयं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पुगेका थिए। एक महिनासम्म पहल गर्दा पनि प्रमुख प्रशासकीय अधिकृत नखटाइएपछि मन्त्रालयमा धर्ना बस्ने चेतावनीसमेत दिएको उनले बताएका थिए।

अध्यक्ष चन्दका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको मनपरी सरुवा गर्ने प्रवृत्तिका कारण स्थानीय तहहरू समस्यामा पर्दै आएका छन्। नयाँ नियुक्तिपछि भने पालिकाको प्रशासनिक कामले गति लिने अपेक्षा गरिएको छ।