ड्यालस, अमेरिका-विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गर्ने दुई नेपाली महिलाहरूलाई आइतबार टेक्ससको ड्यालसमा एक विशेष कार्यक्रमका साथ सम्मान गरिएको छ।
पाँच पटक सगरमाथाको सफल आरोहण गरेका फोटो पत्रकार पूर्णिमा श्रेष्ठ र दुई पटक सगरमाथाको सफल आरोहण गरेका उषा बिष्टलाई ड्यालस स्थित नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको सभाकक्षमा आयोजित कार्यक्रममा ड्यालसमा बसोबास गर्ने नेपाली समुदायले सम्मान गरेका हुन्।
उक्त अवसरमा सगरमाथा आरोही श्रेष्ठ र बिष्टले हिमाल आरोहणका क्रममा भोगेका अनुभवहरू सुनाएका थिए ।
पूर्णिमा श्रेष्ठले विश्वका आठ हजार मिटरभन्दा अग्ला आठ वटा हिमालहरू समेत आरोहण गरिसकेका छन्। उनले १३ दिनको अवधिमा तीनपटक सगरमाथाको चुचुरोमा पुगेको रोचक अनुभव प्रस्तुत गरिन।
त्यस्तै, आरोही उषा बिष्टले पनि आफूले दुईपटक सगरमाथा आरोहण गर्नुका साथै नेपाल, अमेरिका, रुस र अष्ट्रेलियाका विभिन्न हिमालहरू सफलतापूर्वक आरोहण गरेको जानकारी दिइन्।
उक्त सम्मान कार्यक्रम नेपाली समाज टेक्सस, नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र, टेक्सस नेपलिज मेडिकल एसोसिएसन लगायतका संघ–संस्थाको संयुक्त आयोजनामा सम्पन्न भएको थियो। कार्यक्रममा ड्यालस क्षेत्रका नेपालीहरूको उल्लेख्य उपस्थिति थियो।
उक्त अवसरमा सहभागीहरूले श्रेष्ठ र बिष्टले देखाएको अद्वितीय साहस, संकल्प र राष्ट्रिय गौरवको खुलेर प्रशंसा गरेका थिए।












