डोटी- दिपायल सिलगढी नगरपालिका–२ दिपायलमा निर्माणाधीन अस्पतालको काम लामो समयदेखि सुस्त हुँदा आयोजना अलपत्र पर्ने अवस्थामा पुगेको छ। २०८० असोज ३० गते इन्द्रायणी बिल्डर्स एण्ड सप्लायर्स, काठमाडौँसँग १ करोड ११ लाख ८९ हजार रुपैयाँमा सम्झौता गरी निर्माण सुरु गरिएको अस्पताल तोकिएको समयभन्दा १४ महिना बढी बितिसक्दा पनि अपेक्षित प्रगति हुन सकेको छैन।
नगरपालिकाका अनुसार हालसम्म ठेकेदार कम्पनीलाई कामको प्रगतिअनुसार दुई किस्तामा ३६ लाख ८ हजार रुपैयाँ भुक्तानी भइसकेको छ। नगरपालिकाका इन्जिनियर शिवबहादुर माझीका अनुसार आर्थिक प्रगतिका हिसाबले हालसम्म करिब ३२ प्रतिशत मात्र काम सम्पन्न भएको छ।
सम्झौताअनुसार अस्पताल निर्माण २०८१ चैत ३० गतेभित्र सम्पन्न हुनुपर्ने भए पनि हालको कार्यप्रगतिले तोकिएको समयमै काम सकिने सम्भावना न्यून देखिएको नगरपालिकाले जनाएको छ। निर्माणमा निरन्तर ढिलासुस्ती भएपछि स्थानीय तहले कडा कदम चाल्ने तयारी गरेको छ।

‘हामीले पटक–पटक ठेकेदारलाई ताकेता गर्दै आएका छौँ,’ इन्जिनियर माझीले भने, ‘अब काममा सुधार नआए ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइन्छ।’ यस विषयमा ठेकेदार कम्पनीका सञ्चालक अशोक गैरेसँग प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आएनन्।
अस्पताल सञ्चालनमा आएपछि स्थानीय स्वास्थ्य सेवामा ठूलो राहत पुग्ने दिपायलका स्थानीय सन्तोष नेपाली बताउँछन्। ‘डोटीमा सुविधा सम्पन्न अस्पताल नहुँदा सामान्य बिरामी पर्दा पनि धनगढी वा नेपालगन्ज जानुपर्ने बाध्यता छ,’ उनले भने, ‘उपचारभन्दा यात्रा र बसाइमै धेरै खर्च हुने गरेको छ।’
अस्पताल निर्माण सम्पन्न भए दिपायल सिलगढी नगरपालिकाका करिब ३६ हजार नागरिकले प्रत्यक्ष स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ। जिल्ला सदरमुकाम नजिकै रहेकाले आसपासका क्षेत्रका बासिन्दाले पनि सेवा लिन सक्ने नगरपालिकाको भनाइ छ।













