नेपाल कम्युनिस्ट पार्टी (बहुमत) भित्र आन्तरिक विवाद उत्कर्षमा पुगेपछि अध्यक्ष मण्डलका अध्यक्ष धर्मेन्द्र बास्तोला ‘कञ्चन’ निष्कासित भएका छन्।
भदौ १५ गते बसेको पार्टीको केन्द्रीय समितिको विशेष बैठकले बास्तोलालाई अध्यक्ष मण्डलको अध्यक्षसहित पार्टीका सम्पूर्ण जिम्मेवारीबाट बर्खास्त गर्ने निर्णय गरेको हो।
पार्टीले जारी गरेको संयुक्त विज्ञप्तिअनुसार अध्यक्ष मण्डलका सदस्य तथा पार्टी प्रवक्ता दीपकलाई अध्यक्ष मण्डलको अध्यक्षको जिम्मेवारी दिइएको छ। साथै, पार्टीको राष्ट्रिय सम्मेलन आगामी असोज ५ गते काठमाडौंमा गर्ने निर्णय गरिएको छ।
पार्टीले बास्तोलामाथि स्वेच्छाचारी गतिविधि, सांगठनिक अराजकता र अनैतिक हर्कत गरेको आरोप लगाएको छ। राष्ट्रिय सम्मेलन एकल निर्णयबाट स्थगित गर्न खोजेको, फरक दस्तावेज अस्वीकार गरेको तथा सैद्धान्तिक र वैचारिक बहसबाट पन्छिएको आरोप पनि उनीमाथि लगाइएको छ।
बास्तोलामा लामो समयदेखि गैरमार्क्सवादी गतिविधि देखिएको र पार्टी अनुशासन उल्लङ्घन गर्दै आएको दाबी पार्टीले गरेको छ। उनको कारबाहीमा पार्टीका विभिन्न १२ वटा जन बर्गिय संगठन तथा मोर्चा संगठनको सहमति रहेको जनाइएको छ।












