काठमाडौं-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका पूर्वराष्ट्रपति तथा संघीय सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदभेदेभको ‘उत्तेजक’ भनाइपछि दुई आणविक पनडुब्बी तैनाथ गर्न आदेश दिएका छन् ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, “मैले दुई परमाणु पनडुब्बीहरूलाई आवश्यक क्षेत्रहरूमा तैनाथ गर्न आदेश दिएको छु, यदि ती मूर्खतापूर्ण र उक्साउने शब्दहरू खाली बोलाइ मात्र होइन । शब्दहरू निकै महत्वपूर्ण हुन्छन् र कहिलेकाहीँ अनपेक्षित परिणाम निम्त्याउन सक्छन् ।”
“उनी (मेदभेदेभ) आणविकको बारेमा कुरा गरिरहेका थिए,” ट्रम्पले भने, “जब आणविकको बारेमा कुरा हुन्छ, हामी तयार हुनुपर्छ र हामी पूर्ण रूपमा तयार छौं ।”
पछिल्लो दिनहरूमा ट्रम्प र मेदभेदेभबीच सामाजिक सञ्जालमा वाकयुद्ध चलिरहेको थियो । मेदभेदेभले सोभियतकालीन परमाणु प्रतिआक्रमण क्षमताको उल्लेख गरेका थिए, जसको जवाफमा ट्रम्पले ‘शब्दहरूको मूल्य’ सम्झाउने शैलीमा चेतावनी दिएका हुन् ।
सन् २००८ देखि २०१२ सम्म रुसको राष्ट्रपति रहेका मेदभेदेवले यस हप्ताको सुरुमा ट्रम्पलाई “रूससँग अल्टिमेटम खेल खेलेको” आरोप लगाएका थिए । “हरेक नयाँ अल्टिमेटम भनेको धम्की र युद्धतर्फको कदम हो,” मेदभेदेवले एक्समा लेखेका थिए ।
जुलाईको सुरुमा उनले ट्रम्पको अल्टिमेटमलाई “नाटकीय” भनेर वर्णन गर्दै भनेका थिए, “रूसलाई यसको वास्ता छैन ।” तर, मेदभेदेभले कुन टिप्पणीले ट्रम्पलाई यस्तो निर्णय लिन प्रेरित गर्यो भन्नेबारे प्रष्ट खुलाइएको छैन ।
मेदभेदेवले सन् २०२२ देखि युक्रेनमा रुसको ठूलो मात्रामा आक्रमणको समर्थन गर्छन् र पश्चिमी देशहरूको कडा आलोचक हुन् ।
यसैबीच ट्रम्पले युक्रेन युद्ध रोक्ने प्रयासस्वरूप आफ्ना विशेष दूत स्टिभ विटकफलाई चाँडै रूस पठाउने बताएका छन् । ट्रम्पले युक्रेनमाथिको रुसी आक्रमणलाई “घृणित” भन्दै रुसमाथि नयाँ प्रतिबन्ध लगाउने चेतावनी पनि दिएका छन् ।
एजेन्सी












