२०८३ असार १८
खाेज्नुहाेस
विज्ञापन

फिफाद्वारा एन्फा निलम्बित, नेपाली फुटबलमा ठूलो धक्का

विज्ञापन
Image
विज्ञापन

काठमाडौं – विश्व फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई तत्काल लागू हुने गरी निलम्बन गरेको छ। फिफाले तेस्रो पक्षको हस्तक्षेपसम्बन्धी आफ्नो विधान उल्लंघन भएको निष्कर्ष निकाल्दै एन्फामाथि कारबाही गरेको हो।

फिफाले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार फिफा विधानको धारा १४ को उपधारा १(आई) र उपधारा ३ को उल्लंघन भएको ठहर गर्दै एन्फालाई निलम्बन गरिएको हो। उक्त व्यवस्था सदस्य संघहरूको स्वतन्त्र सञ्चालनमा तेस्रो पक्षको हस्तक्षेप हुन नहुने विषयसँग सम्बन्धित छ।

एन्फाको कार्यसमितिको कार्यकाल गत असार ६ गते सकिएको थियो। त्यसअघि फिफाले नयाँ निर्वाचन सम्पन्न नभएसम्म पुरानै कार्यसमितिलाई जिम्मेवारीमा रहन निर्देशन दिएको थियो। तर निर्वाचन प्रक्रियालाई लिएर एन्फा र सरकारबीच लामो समयदेखि विवाद चलिरहेको थियो।

एन्फाले गत वर्ष चैत १३ गते केन्द्रीय निर्वाचन मात्र गर्ने निर्णय गरेपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) र एन्फाबीच विवाद चर्किएको थियो। तहगत निर्वाचन सम्पन्न गर्न पटक–पटक निर्देशन दिँदा पनि बेवास्ता गरिएको भन्दै राखेपले चैत ११ गते एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको थियो। पछि जेठ १ गते उक्त निलम्बन फुकुवा गरिएको थियो।

विवादकै बीच एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईसहित २४ जनालाई राखेपको सिफारिसमा विदेश जान रोक लगाइएको थियो। विश्वकप उद्घाटन समारोहमा सहभागी हुन मेक्सिको जान लागेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको थियो।

सरकार स्वयं पनि एन्फाको विवाद समाधान प्रक्रियामा संलग्न भए पनि सहमतिको निष्कर्ष निकाल्न नसकेको अवस्थामा फिफाले अन्ततः निलम्बनको निर्णय गरेको हो।

निलम्बनसँगै नेपाली फुटबलले अन्तर्राष्ट्रिय स्तरमा गम्भीर असर भोग्नुपर्ने भएको छ। अब नेपालले फिफा तथा एएफसीअन्तर्गतका अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउने छैन। साथै, नेपालका फिफा मान्यताप्राप्त रेफ्रीहरूले पनि अन्तर्राष्ट्रिय खेल सञ्चालन गर्न नपाउने भएका छन्।

सन् १९५१ मा स्थापना भएको एन्फा सन् १९७२ मा फिफाको सदस्य बनेको थियो। पाँच दशकभन्दा लामो इतिहासमा एन्फा पहिलो पटक फिफाबाट निलम्बनमा परेको हो।

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन