२०८३ असार १८
खाेज्नुहाेस
विज्ञापन

कैलालीमा डमरुसहितको पोथी बाघ देखिएपछि स्थानीय त्रसित

विज्ञापन
Image
विज्ञापन

कैलाली- कैलारी गाउँपालिकास्थित घुरहा नदी आसपासका सामुदायिक वन क्षेत्रमा डमरुसहितको पोथी बाघ देखिन थालेपछि स्थानीयवासीमा त्रास फैलिएको छ। बाघले घरपालुवा जनावरसमेत आक्रमण गरी मार्न थालेपछि वन क्षेत्र आसपासका बासिन्दा थप चिन्तित बनेका छन्।

स्थानीयका अनुसार कैलारी गाउँपालिका–४ को हरियाली महिला सामुदायिक वन, मिलन सामुदायिक वन तथा वडा नम्बर ६ स्थित भगतपुरको सयपत्री सामुदायिक वन क्षेत्रमा डमरुसहितको पोथी बाघ नियमित रूपमा देखिने गरेको छ। यी सबै वन क्षेत्र घुरहा नदी आसपास जोडिएका छन्।

कैलारी गाउँपालिका–४ का तीर्थराज नेपालले वन क्षेत्र नजिकै विद्यालय रहेकाले विद्यार्थीहरूको सुरक्षालाई लिएर विशेष चिन्ता बढेको बताए। बाघको गतिविधि बढेपछि विद्यालय परिसर आसपासका झाडीहरू सफा गरिएको उनले जानकारी दिए।

हरियाली महिला सामुदायिक वन उपभोक्ता समितिकी सचिव सुनिताकुमारी चौधरीका अनुसार बाघले हालसम्म दुई वटा गोरु र एउटा बँदेल मारेको छ। भगतपुरका स्थानीयले पोथी बाघलाई आफ्ना डमरुसहित घुरहा नदी वारपार गरिरहेको अवस्थामा देखेको उनले बताइन्।

यसैबीच, हराएको गाई खोज्न वनमा गएका के गाउँका चन्द्रकला नेपाल र उनका छोरा नीरज नेपालको बाघसँग नजिकै जम्काभेट भएको थियो। चन्द्रकलाले बाँसको झाडी नजिक बाघ देखेपछि डरले चिच्याएको बताइन् भने नीरजले बाघका केही तस्वीर खिचेर सुरक्षित रूपमा घर फर्किएको जानकारी दिए।

भारतको दुधुवा राष्ट्रिय निकुञ्जसँग जोडिएको उक्त क्षेत्रमा विगतदेखि नै पाटेबाघको आवतजावत हुने गरेको अभिलेख रहेको छ। स्थानीयका अनुसार दुधुवा क्षेत्रमा बाघको संख्या बढी भएकाले पोथी बाघले आफ्ना डमरु सुरक्षित रूपमा हुर्काउन बसन्ता जैविक मार्ग हुँदै नेपालका विभिन्न सामुदायिक वन क्षेत्रसम्म ल्याउने गरेको छ। मोहना र घुरहा नदी किनार हुँदै बाघहरू दुधुवाबाट नेपाल प्रवेश गर्ने गरेको जनाइएको छ।

वन क्षेत्र नजिकै बस्ती र विद्यालय रहेकाले स्थानीयले बाघको गतिविधि निगरानी गर्न क्यामेरा ट्र्याप जडान गर्न डिभिजन वन कार्यालयसँग माग गरेका छन्।

डिभिजन वन कार्यालय धनगढीका वरिष्ठ डिभिजनल वन अधिकृत रामविचारी ठाकुरले उक्त क्षेत्रमा बाघ देखिएको विषयमा औपचारिक जानकारी प्राप्त नभएको बताए। यद्यपि बाघको उपस्थितिको पुष्टि भए आवश्यक सतर्कता अपनाउने र स्थानीयलाई सचेत गराउने काम गरिने उनले बताए।

स्थानीयका अनुसार बाघ हुलाकी राजमार्ग अन्तर्गत घुरहा नदीको पुल क्षेत्रदेखि उत्तरतर्फको वन तथा नदी किनार आसपास सक्रिय देखिएको छ। त्यस क्षेत्रमा आवतजावत गर्ने सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

यसैबीच, सयपत्री सामुदायिक वन उपभोक्ता समितिका सचिव नरेन्द्र थारुले डमरुसहितको पोथी बाघको पछि लाग्दै एउटा भाले बाघ पनि सो क्षेत्रमा पुगेको दाबी गरेका छन्। उनका अनुसार भाले बाघ देखिएपछि पोथी बाघ आफ्ना डमरुसहित मोहनपुरतर्फको वन क्षेत्रमा सरेको छ।

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन